बिर्तामोड ,असार १८ । गिरीजाप्रसाद कोइराला (जिपी) फाउन्डेसन एग्रो टुरिजम ग्राम विकास समिति झापाले शुक्रबार बिर्तामोड नगरपालिका क्षेत्रभित्र पर्ने सुन्दर निचाझोडा सामुदायिक वनक्षेत्रमा रबरको विरुवा रोपेको छ ।

गिरीजाप्रसाद कोइराला फाउन्डेसन एग्रो टुरिजम ग्राम विकास समिति जिल्ला अध्यक्ष चन्द्रप्रसाद अधिकारीको अध्यक्षता,झापा क्षेत्र नं.–२ प्रदेश १ का सांसद एकराज कार्कीको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा फाउन्डेसनका महिला विभाग प्रमुख उमा शिवाकोटी, झापा अध्यक्ष बुद्धिराज न्यौपाने, जिल्ला रबर ग्राम समन्वय समितिका संयोजक शान्तिराम चिमरिया, सुन्दर निचा झोडा सामुदायिक बन समितिका अध्यक्ष रेनुका उप्रेती, विर्तामोड नगरपालिका वडा नं.–७ का अध्यक्ष चन्द्रकला पकवाल, कनकाई सब डिभिजन सुरुङ्गका प्रमुख दिनेश यादवलगायतले रबरको महत्वबारे धारणा राखेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरुले रबर खेतीको विकास, विस्तार गर्नसके देशको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने गरिव किसानहरुको जीवनस्तर माथि उक्सने , रोजगारीका अवसरहरु सिर्जना हुने कुरामा जोड दिए । औपचारिक कार्यक्रमको सञ्चालन समितिका सचिव सिताराम बाँस्तोलाले गरेका थिए ।
रबरलाई टुरिजमसंग पनि जोड्ने उद्देश्यले गिरीजाप्रसाद कोइराला फाउन्डेसनले यसअघि झापाकै बुद्धशान्तिमा रबर बाटिकाको शुरुवात गरेको बताइएको छ ।
रबर छोटो समयमा आम्दानी गर्न सकिने राम्रो खेतीका रुपमा लिइन्छ । झापालाई सरकारले रबर जोनका रुपमा घोषणा समेत गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्