विष्णुमाया श्रेष्ठ (शुष्मा)

मेरो सानो पाठेघर मेरो शक्तिको घर
आमा तिमीले प्रदान गरेको मेरो घर
त्यही हो मेरो सम्पूर्ण घर ।

बुबाले बनाएको भाइ र दाजुको घर
ससुराले बनाएको मेरो श्रीमानको घर
तर खोइ त आमा, तिम्रो र मेरो घर
छैन आज पनि तिम्रो घर, छोराको शरणमा छौ ।
छोरालाई सिर्जना गर्यौ, छोरा नै प्राण सम्झिन्छौ
अनि त त्यहीँ छोराको सिर्जना भएको तिमीसंग छ मात्र पाठेघर।

त्यसैले होला आमा मेरो पनि छैन घर
तर पनि आतिएको छैन आमा नहुँदा मेरो घर
छ मसंग पनि तिम्रो पाठेघरभित्र बनेको मेरो पाठेघर
सम्पूर्ण शक्ति र सृजनाले भरिभराउ मेरो पाठेघर ।

काठ र ईटाको के घर, साँच्चै आमा मलाई दियौँ अनगिन्ती वरदानको घर
मेरो सानो पाठेघर
मेरो सानो पाठेघर ।।

बिर्तामोड– ९

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्