झापा , असार २४ । झापाका चर्चित उद्योगपति तथा समाजसेवी पर्शुराम अग्रवालको निधन भएको छ ।

भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति अग्रवालको ६२ वर्षको उमेरमा भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होममा गएराति ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शवलाई त्यहाँबाट भद्रपुर ल्याइएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उनले मेची अस्पताल भद्रपुरमा कोरोनाको पीसीआर परीक्षण गराएका थिए । जेठ ३१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते सिलिगुडी लगिएको थियो । महाराजा नर्सिङ होममा उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको थियो । फेरि तीन दिनअघि पुनः उनको स्वास्थ्य अवस्था जटिल बन्यो ।

बुधवार दिउँसो स्वास्थ्य फेरि जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटर राखेको केही घण्टामै उनको मृत्यु भएको जानकारी चिकित्सकले परिवारजनलाई गराएका थिए । २०१६ सालमा जन्मिएका अग्रवाल बाल्यकालदेखि नै भद्रपुरमै बसेर व्यापार व्यवसायमा संलग्न भए । भद्रपुरमा माविमा अध्ययनरत रहेका बेला उनी भद्रपुर बजारमा हटियाका दिन फुटपाथमा कपडा बेच्थे । उनका बुबाले कन्या राइस मिल चलाउँथे । पछि विस्तारै उनले घरमै घडी बिडीको उद्योग स्थापना गरे । त्यहाँबाट उद्योग क्षेत्रमा प्रवेश गरेका उनको अहिले जिल्लामा ठूलठूला उद्योग धन्दा सञ्चालनमा छ । उनी झापा उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भएका थिए ।

मोहपाल धर्मशालामा समाजसेवा ट्रस्ट, भद्रपुर मारवाडी संघ, भद्रपुर गौशाला, विभिन्न मठमन्दिर बनाउन उनले ठूलो सहयोग गरेका थिए । उनको जिल्लामा मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कुल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटेल, सिनेमा हल लगायतको कारोबार रहेको छ । उनी झापाकै मात्र नभई नेपालकै एक प्रतिष्ठित उद्योगीको रुपमा आफूलाई चिनाउन सफल भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्