मेचीनगर, असार २४ । झापाको मेचीनगर नगरपालिकाको नीति र कार्यक्रमले सबै क्षेत्रलाई समेट्न नसकेकाले समस्या देखिएको भन्दै नगर प्रमुखलाई ध्यानाकर्षण गराइएको छ ।

नगरपालिकाले मेचीनगर–१४ मा आयोजना गरेको सार्वजनिक सुनुवाइमा टोल विकास समितिका प्रतिनिधिले नगर प्रमुख बिमल आचार्यलाई ध्यानाकर्षण गराएका हुन् ।
टोल विकास समितिका पदाधिकारीलाई नगरको योजनाबारे सूचित नगराएको, उद्योगधन्दाको प्रभावकारी अनुगमन गर्न नसक्दा स्थानीयले समस्या बेहोर्नु परेको, नगरमा कर्मचारी नहँुदा विकास निर्माणको रकम फरफारकमा ढिलासुस्ती भएको, युवा रोजगारमैत्री कार्ययोजना नल्याएको भन्दै खानेपानी, सडकबत्ती, कृषि तथा सिंचाईंका समस्या समाधान गर्न नगर प्रमुख आचार्यलाई आग्रह गरेका थिए ।
खोलामा मापदण्डविपरित उत्खनन् हुँदा नगरकै अनुगमन टिम मुकदर्शक बनेकोले त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न आग्रह गरेका थिए । कार्यक्रममा नगर प्रमुख आचार्यले समस्या देखिएका ठाउँमा आगामी आर्थिक बर्षमा समेटेर जाने प्रतिबद्धता जनाए । उनले कोरोनाका कारण पनि नगरका कार्ययोजनाहरुमा समस्या देखिएको स्वीकारेका थिए ।
विपन्नलाई राहत वितरण र वास्तविक कृषकको अभिलेख राख्न ठोस नीति बनाई विपन्न र कृषकको परिचयपत्र बनाउने समेत उल्लेख गरेका थिए । उनले खोलाको उत्खनन्को बिषयमा आएअनुसार अनुगमन कमजोर भएको र ठेकेदारलाई कार्वाही गरेको जानकारी गराएका थिए । वडाध्यक्ष शंकर पोखरेलले वडामा भएगरेका गतिविधिको बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा जीवन प्रसाईं, अभिनारायण मैनाली, शान्तिराम कडरिया, विश्व थापा, प्रकाश पनेरूलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सामुदायिक विकास मंच नेपालका सोमराज ढकालले गरेका थिए ।