झापा , असार २५ । झापामा जति निषेधाज्ञा खुकुलो बनाइदैछ , त्यति धेरै नै कोरोना संक्रमित थपिदै गएका छन् । निषेधाज्ञा खुकुलो बनायताको तथ्यांकले कोरोना संक्रमण र मृत्यु दर बढेको देखाएको हो ।

असार १४ गतेयता जिल्ला प्रशासन कार्यालयले पसल, बजार र यातायात संचालनमा अनुमति दिएसँगै मानिसको भीडभाड बढ्न गई संक्रमण र मृत्यु दर फेरि अनियन्त्रित बन्न थालेको छ । असार १४ देखि २४ गतेसम्मको तथ्याँकलाई जोड्ने हो भने झापामा कोरोना संक्रमणबाट ११ दिनमा २६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ हजार ७२४ जना संक्रमित थपिएका छन् । प्रत्येक दिनको आँकडालाई हेर्ने हो भने संक्रमितको प्रत्येक दिन मृत्यु हुने गरेको छ भने संक्रमित दर तेहोरो सँख्यामा रहेको छ ।

असार १४ गते २ मृत्यु १८६ संक्रमित , १५ गते ३ मृत्यु १४९ संक्रमित , १६ गते ५ मृत्यु १७७ संक्रमित ,१७ गते १७८ संक्रमित ,१८ गते १ मृत्यु ११८ संक्रमित ,१९ गते १ मृत्यु ५१ संक्रमित , २० गते २ मृत्यु १३२ संक्रमित ,२१ गते २ मृत्यु २२९ संक्रमित ,२२ गते ३ मृत्यु ११७ संक्रमित , २३ गते ४ मृत्यु २५५ संक्रमित र असार २४ गते ३ मृत्यु १३२ जना संक्रमित भएका छन् । यसरी हेर्दा निषेधाज्ञा खुकुलो पारेसँगै संक्रमण र मृत्यु दर बढ्न थालेको हो ।

यसैबीच कोरोना संक्रमणबाट गएराति बिर्तामोड ३ की एक महिलाको मृत्यु भएको छ । कडरिया थरकी करिब ७० वर्षिया महिलाको मेची अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमणबाट झापामा ३७२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १७ हजार ३४० जना संक्रमित भएका छन् । त्यसमध्ये हाल २ हजार २६६ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये १२ हजार ८४८ जना निको भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । देशको बढी कोरोना संक्रमित नौ जिल्लामा झापा पनि परेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई सरकारले संवेदनशील मानेको छ । जब कि झापामा सक्रिय संक्रमितको सँख्या हाल २ हजार २६६ रहेको छ । त्यस्तै उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका साथै चितवन, रसुवा, कास्की, सुनसरी, मोरङ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्