झापा , असार २६ । अर्जुनधारा नगरपालिकाको नगर खेलकुद विकास समितिले खेलकुद क्षेत्रका अग्रज चारजना व्यक्तित्वलाई सम्मान गर्ने भएको छ ।

नगरभित्र रही खेलकुदको विभिन्न विधाको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याउने चारजना अग्रज व्यक्तित्वलाई नगदसहित सम्मान गर्न लागेको हो । सम्मान कार्यक्रम आइतबार हुनेछ ।अर्जुनधारा नगरपालिकालाई कर्मथलो बनाइ फुटबल, एथलेटिक्स, मार्सल आर्टस्को कराते र तेक्वान्दो विधाबाट नगरको पहिचान राख्न सफल व्यक्तित्वलाई सम्मान गर्न लागेको समितिका संयोजक अर्जुन मेचेले जानकारी दिए ।
उनका अनुसार फुटबल विधाबाट पूर्व खेलाडी तथा प्रशिक्षक भगिरथ आले मामा, एथलेटिक्सका पूर्व खेलाडी हेमनारायण चौधरी, करातेका प्रशिक्षक नारायण सुब्बा र तेक्वान्दोका प्रशिक्षक जितेन्द्र मेचेलाई नगदसहित सम्मान गर्न लागिएको हो ।अर्जुनधारा ७ स्थित पितृभवनमा आयोजना हुने सम्मान कार्यक्रममा उनीहरुलाई जनही १५–१५ हजार नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरिने भएको छ ।फुटबल प्रशिक्षक मामाले राष्ट्रिय पहिचान बनाएका छन् भने धावक चौधरीले २०३८ सालमा आयोजित प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा मेची अञ्चलबाट सहभागिता जनाएका थिए ।यस्तै, सुब्बाले अर्जुनधारा नगरक्षेत्रमै कराते खेल भित्र्याएर अहिलेसम्म निरन्तरता दिइरहेका छन् भने मेचेले तेक्वान्दो खेल नगरमा भित्र्याएर हालसम्म खेल जीवन र प्रशिक्षणलाई जारी राखेका छन् ।उनीहरुलाई प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा पुरस्कार तथा सम्मान प्रदान गरिने भएको छ ।