झापा , असार २९ । कोरोना संक्रमणबाट भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होमकोे आइसियूमा आफू छट्पटाइरहेका थिए , त्यस्तो बेलामा समेत उनी अर्कालाई सहयोग गर्न पछि हटेनन् ।

त्यही हस्पिटलमा डाइलोसिस गराउन आएकी एक महिला खर्चको अभावमा समस्यामा परेको थाहा पाएपछि उनले आफू गंभीर अबस्थामा हुँदा समेत आर्थिक सहयोग गरे । ती उदारमनका दानबीर हुन् प्रशुराम अग्रवाल । जसले अर्कालाई सहयोग गरेर नै अन्तिम सास लिए । उनी चर्चित उद्योगी व्यवसायी मात्र थिएनन् ठूलो ह्रदयका एकजना समाजसेवी थिए अनि धार्मिक व्यक्तित्व । जसले सबैलाई रुवाएर गए । ती उद्योगपति तथा समाजसेवी अग्रवालको निधन भएको आज ६ दिन भएको छ ।
भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति अग्रवालको ६२ वर्षको उमेरमा भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होममा असार २३ गते राति ९ बजे निधन भएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनले मेची अस्पताल भद्रपुरमा कोरोनाको पीसीआर परीक्षण गराएका थिए । जेठ ३१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते सिलिगुडी लगिएको थियो ।

स्वास्थ्य फेरि जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै राखेको केही घण्टामै उनको मृत्यु भएको हो । २०१६ साल असार १३ गते बुवा स्वर्गीय कन्हैयालाल अग्रवाल (साहेवाला) र आमा स्वर्गीय शान्तिदेवी अग्रवाल(साहेवाला)का ६ जना छोरा र ४ जना छोरीमध्ये साइला छोराको रुपमा उनको जन्म भएको थियो । प्रशुरामले भद्रपुर हाइस्कूलमा मावि तहसम्मको अध्ययन गरेका थिए । उच्च शिक्षा अध्ययन गर्न नपाएपनि प्रशुराम एक कुशल योजनाकार थिए ।उनले सानो उमेरदेखि नै पुख्र्यौली पेशा व्यापारलाई अँगाले । केही वर्ष बुवाले खोलेको केएम राइस मिल चलाएका उनले सानो आकारबाट आफ्नै व्यवसाय शुरु गरेका थिए । प्रशुराम बाल्यकालदेखि नै भद्रपुरमै बसेर व्यापार व्यवसायमा संलग्न भए । भद्रपुरमा माविमा अध्ययनरत रहेका बेला उनी भद्रपुर बजारमा हटियाका दिन फुटपाथमा सामान बेच्थे । १५ वर्षको उमेरमा बजारमा बोरा ओछ्याएर त्यही बोरामाथि बसेर उनले बोरा र छाताको व्यवसाय शुरु गरे ।

त्यसपछि फुटपाथका सामान बेच्न थाले । २ वर्षजति त्यसरी सडकमा पसल चलाएपछि उनले इलेक्ट्रिक , स्पोर्टस् , हार्डवेयरलगायतका मिक्स आइटमको पसल विस्तार गरे । त्यसपछि उनी फेरि राइस मिलमै फर्किए । केएम राइस मिललाई अटोमेटिक बनाए । त्योसँगै तेल मिल संचालनमा ल्याए । पहिलोपटक झापामा घडी बिडीको फ्याक्ट्री २०४३ सालमा स्थापना गरे । विभिन्न क्षेत्रमा कारोबार विस्तार गर्दै गए ।

पछिल्लो समय उनले दुई दर्जनभन्दा बढी उद्योग व्यवसायमा हात हालेका थिए । मनशा सिमेन्ट , मगमग चाउचाउ , नवकाशी सुर्ती प्याकेजिङ उद्योग , निधि गुट्का , इटा ब्लक उद्योग , होटल आनी , होटल सिटी गार्डेन , ग्यालेक्सी इंग्लिस स्कूल , पूजा ओभरसिज इटहरी , कृष्णराज कम्प्लेक्स , काठ मिल , नवकिरण सूर्ती उद्योग काठमाडौं , मेची मोडल आयुर्वेद अस्पताल,निशान गाडी सोरुम , बालाजी ज्वेलर्स , बंशल ट्रेडिङ(कजरिया टायल्स), कालिका टी इस्टेट , विनायक होटल गलगलियालगायत धेरै व्यवसायमा उनको लगानी रहेको छ । उनको अहिले ठूल्ठूला उद्योग धन्दा सञ्चालनमा छ ।

उनी २०५६ सालदेखि झापा उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भएका थिए । मारवाडी सेवा समितिको अध्यक्ष , मोहपाल धर्मशाला ट्रष्टको अध्यक्ष जस्ता पदमा रहेर उनले गहन जिम्मेवारी निर्वाह गरेका थिए । भद्रपुरको मलामी विश्रामालय ,गौशाला , मोहपाल धर्मशाला राधाकृष्ण मन्दिर, दुर्गा मन्दिर, लक्ष्मीनारायण मन्दिर , काली मन्दिर ,कृष्ण मन्दिरजस्ता सामाजिक एवं धार्मिक संरचना निर्माणमा उनको सहयोग रहेको थियो । उनी झापाकै मात्र नभई नेपालकै एक प्रतिष्ठित उद्योगीको रुपमा आफूलाई चिनाउन सफल भएका थिए ।उनको निधनले व्यावसायिक क्षेत्रले एक प्रतिष्ठित व्यक्ति र समाजले एक सामाजिक अभियन्ता गुमाएको छ । प्रशुरामको निधनले उनकी पत्नी मन्जुदेवी अग्रवाल , छोरा बुहारी नितेश– हर्षा , छोरी ज्वाइँहरु पुजा –नवीन , स्वीटी– किशन , सुनिधि– विवेक र मनिशा– साकेतलाई पर्न गएको शोक सहन गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामनासहित दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्