ईलाम, असार २९ । उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसरभित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी भएको छ ।

सोलुखुम्बु सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका–७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ बर्षीया बिमलादेवी निरौला पराजुली हिजो बिहान अन्दाजी ७ बजे कार्यालय परिसरमा मृत फेला परेकी थिईन् । एकजना महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठसहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको थियोे । थप अनुसन्धानको लागि संघीय प्रहरी ईकाई धरानबाट तालिमप्राप्त कुकुरसहितको बिशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ बर्षीय युवराज बानियाँको संग्लग्नता रहेको देखिएसंगै उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका बानियाँले सो घटनामा आफ्नो संग्लग्नता रहेको स्वीकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

मुख्य न्यायाधीशकै क्वाटरमा बानियाँले हत्या गरेको स्वीकारेको इलामका प्रहरी प्रमुख श्रेष्ठले बताए । आइतबार साँझ क्वाटरमा हत्या गरेर हिँडेका बानियाँले राति आएर क्वाटर बाहिर शव फ्याकेको प्रहरीले जनाएको छ । धनकुटा होली खर्क– ५ घर भई दुई वर्षदेखि मुख्य न्यायाधीशको गार्डमा कार्यरत ३५ वर्षीय प्रहरी असई बानियाँ र मृतक पराजुलीबीच लामो समयदेखि सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा झगडा हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी श्रेष्ठले बताए । तर, शव अर्धनग्न अवस्थामा घोप्टो भेटिएकाले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । आज जिल्ला प्रहरी कार्यालय इलाममा घटना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले भने, ‘उनले बलात्कार स्वीकारेका छैनन् तर त्यस विषयमा पनि अनुसन्धान गर्छौं ।’

मृतक पराजुलीको मोबाइल र ब्याग कार्यालयभित्रै भटिएको थियो । प्रहरीका अनुसार फोन र ब्याग कार्यालयमै राखेर अदालत परिसरमै रहेको करेसाबारीमा सब्जी टिप्न गएकी पराजुलीले नै फोन गरेर बानियाँलाई अदालत बोलाएकी थिइन् । अदालतभन्दा बाहिरै परिवारसँग डेरा गरेर बस्ने बानियाँ पराजुलीको फोनपछि अदालतको पछिल्लो भागबाट पर्खाल हुँदै अदालतभित्र आएका थिए । मुख्य न्यायाधीश विदामा रहेको र क्वाटरको तालाचाबी बानियाँसँगै रहेकाले त्यसपछि दुवैजना क्वाटरभित्र गएपछि घटना भएको देखिन्छ । क्वाटरभित्र मृतक पराजुलीले बलात्कारको मुद्धा लगाउँछु भनेर निस्कन लागेपछि बानियाँले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीको नियन्त्रणमा रहेका बानियाँले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
मृतक पराजुलीको कानको टप क्वाटरको ढोकामा राखिएको म्याटमा भेटिएको र उनले लगाएको दुई तोलाको सिक्रीसमेत बानियाँको निवासबाट प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्