दमक , असार २९। झापाको कमल गाउँपालिका ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाले आफ्ना ५० जना बाख्रापालन गर्ने कृषक सदस्यहरुलाई सहयोग प्रदान गरेको छ ।

संस्थाले किसानका लागि आवश्यक औषधि, भिटामिन र मिनरल्स साथै नगद वितरण गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कमल गाउँपालिकाबाट प्राप्त भएकोे बाख्राको साना ब्यावसायिक कृषि उत्पादन क्षेत्र पकेट कार्यक्रमअन्तर्गत १५ लाख र संस्थाको तर्फबाट १२ लाख गरी जम्मा २७ लाख रुपैयाँमा सञ्चालित कार्यक्रमअन्तर्गत सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा ३०० बाख्र्राको निशुल्क बिमा, कृषकहरुलाई डाले घाँस, ५० जना कृषकलाई ५० वटा उन्नत माऊ बाख्रा, ५० वटा बाख्राको खोर मर्मत , औषधि मिनरल्स,भिटामिन समेत वितरण गरिएको सो संस्थाका प्रबन्धक टंकप्रसाद पराजुलीले जानकारी दिए ।
कार्यक्रम साना किसान बाख्रा पकेट संचालक समिति अध्यक्ष लछिमादेवी प्रसाईको अध्यक्षता र संस्थाका अध्यक्ष तिलरुपा बाँस्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
यस बर्ष पनि संस्थाले आफ्नो खर्चमा १५ जना पशुपालक किसानलाई बीउ बोका र बंगुर प्रदान गरेको उनले जनाएकी छन् । यसका साथै उक्त कार्यक्रममा नेपाल लाइभस्टक इनोभेसन, विकेन्द्रीकृृत आयोजना बिराटनगरबाट प्राप्त सहयोगबाट ११ जना कृषकहरुलाई भकारो सुधार तथा मलमुत्र ब्यवस्थापन वापतको नगद सहयोग हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्