छविराज ढकाल,
पथरीशनिश्चरे,साउन १ ।आर्थिक वर्ष २०७७–०७८ का लागि पथरीशनिश्चरे नगरपलिकाद्वारा विनियोजित बजेट कार्यान्वयनको समयावधि बिहीवार सकिएको छ ।

चालू आर्थिक वर्षको लागि प्रस्तावित बजेट खर्च हुने समयावधि सकिँदा करिब ८५ प्रतिशत खर्च भएको हो । संघीय तथा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त भएका सबै कार्यक्रम तथा परियोजनाका लागि विनियोजित बजेटको रकम फछ्र्योट भएको प्रशासनिक अधिकृत तुलसीप्रसाद खरेलले जानकारी दिएका छन् । चालू आवमा नगरको वास्तविक आय ६८ करोड ८१ लाख ४१ हजार रुपैयाँ हो । जसमा आव ०७७–०७८को चालू बजेटबाट ८३.३ प्रतिशत र पूँजीगततर्फ ६६.३ प्रतिशत बजेट खर्च भएको छ ।जसअन्तर्गत चालू खर्च ३७ करोड ११ लाख २१ हजार रुपैयाँ खर्च भएको हो भने पूँजीगततर्फ कूल २३ करोड ६९ लाख ९९ हजार रुपैयाँ खर्च भएको देखिन्छ । बिहीबारसम्म ६० करोड ८१ लाख २० हजार रुपैयाँ कुल खर्च भएको छ भने शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा कार्यरत तलवी कर्मचारीहरुले पाउन बाँकी रहेको रकमसहित कूल ८ करोड २० रूपैयाँ मौज्दात रहेको नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिएका छन् ।
गत आठौं नगरसभाले चालू आर्थिक वर्ष ०७७–०७८का लागि आम्दानीतर्फ ८० करोड रुपैयाँ बराबरको अनुमानित बजेट विनियोजन गरेको थियो ।
जसमा राजस्व कूल ६४ करोड ७३ लाख ६४ हजार रुपैयाँ संकलन हुने प्रक्षेपण गरिएको थियो ।जसअन्तर्गत आन्तरिक स्रोतबाट १३ करोड ४६ लाख १२ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको थियो।
यसैगरी, राजस्व बाँडफाँडबाट १२ करोड ९७ लाख ३७ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको थियोे भने अन्तरसहकारी वित्तीय हस्तान्तरण शीर्षकअन्तर्गत ४८ करोड २६ लाख २७ हजार प्राप्त हुने आँकलन गरिएको थियो।
उता , संघीय सरकारको समानीकरण अनुदान, सशर्त अनुदान चालू, विशेष अनुदान चालू र समपुरक अनुदान चालू शीर्षकअन्तर्गत ४६ करोड ४९ लाख रुपैयाँ प्राप्त हुने र प्रदेश सरकारबाट पनि समानीकरण अनुदान र समपुरक अनुदान चालूअन्तर्गत १ करोड ७७ लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्राप्त हुने लक्ष्य राखिएको थियो।
यसैगरी, चालू आर्थिक वर्षका लागि कूल ७४ करोड ७१ लाख २७ हजार रुपैयाँ बराबरको अनुमानित खर्च हुने प्रक्षेपण गरिएको थियो। जसमा चालू खर्चतर्फ ३८ करोड ९९लाख ९६ हजार र पूँजीगत खर्चअन्तर्गत ३७ करोड ७१ लाख ३० हजार रुपैयाँ वार्षिक खर्च हुने अनुमान गरिएको छ भने गत वर्ष नगद मौज्दात ९ करोड ९७ लाख ६२ हजार रुपैयाँ रहेको वार्षिक नगर विकास योजना ( आव २०७७–०७८ को नीति कार्यक्रम तथा बजेट) पुस्तकमा उल्लेख गरिएको छ ।
यसैगरी, आर्थिक वर्ष २०७८–०७९ का लागि गत असार १० गते सम्पन्न भएको नगरसभाले अघिल्लो आवको भन्दा १५ करोड रूपैयाँ बढीको बजेट ल्याएको छ । जसमा ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँको अनुमानित आय हुने प्रक्षेपण छ ।
जसअन्तर्गत ३ करोड रुपैयाँ आन्तरिक स्रोतबाट जुटाइने छ भने राजस्व बाँडफाँडबाट १३ करोड ४६ लाख ६९ हजार ४ सय २० रुपैयाँ प्राप्त हुने अनुमान छ । उता, संघीय सरकारबाट समानीकरण अनुदान , सशर्त अनुदान पूँजीगत र चालू , समपुरक तथा विशेष अनुदान शीर्षकमा कूल ४८ करोड ८५ लाख रुपैयाँ प्राप्त हुने भनिएको छ । त्यस्तै, प्रदेश सरकारबाट समानीकरण र सशर्त अनुदान ( करूणा फाउण्डेशन)बाट कूल १ करोड २६ लाख ४६ हजार र अन्य स्रोतबाट २९ करोड ७ लाख ९६ हजार ३ सय २४ रुपैयाँ प्राप्त हुने लक्ष्य लिइएको छ ।