कुमरखोद , साउन १ । सानो माईखोलामा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले तेस्रो झोलुङ्गे पुलको उद्घाटन गरेका छन् ।

झापा गाउँपालिकाको वडा नं ३ झाँगोटोली र सिमलवाडीको बीचमा रहेको सानो माई खोलामा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएपछि आज एक विशेष कार्यक्रमका बीच झापा गाउँपालिका अध्यक्ष शाहले उद्घाटन गरेका हुन् । झाँगोटोली र सिमलवाडी गाउँका बासिन्दालाई वर्षातको समयमा नदी वारपार गर्न कठिनाई भएपछि गाउँपालिकाले आफ्नो आन्तरिक बजेटले उपभोक्ता समितिमार्फत ५३ लाखमा उक्त पुल निर्माण गरेको हो । झोलुङ्गे पुलको निर्माण सम्पन्न भएपछि स्थानीयलाई झापा गाउँपालिकाको सदरमुकाम कामाटोली बजार ओहोरदोहोर गर्न सजिलो भएको वडा नं. ३ का अध्यक्ष मोतीलाल गणेशले बताए ।

झोलुङ्गे पुलको निर्माणसम्बन्धी सम्पूर्ण प्राविधिक सहयोग सहारा नेपाल चारपानेले गरेको झापा गाउँपालिका अध्यक्ष शाहले बताए । उक्त पुलको लम्बाई ६४ मिटर र चौडाई १.५ मिटर छ । अध्यक्ष शाहले अबको केही दिनभित्रै सो झोलुङ्गे पुलदेखि सिमलवाडी बजार पुग्नको लागि कालोपत्रे गरिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्