भद्रपुर , साउन १ । झापाको भद्रपुरमा आज भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

ज्ञानेचोकबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्वरको ट्याक्ट्रर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह ६४१९ नम्वरको टेम्पो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । भद्रपुर – १ सगरमाथा चोकको ओरालोमा दिउँसो साढे २ बजे भएको दुर्घटनामा परेर भद्रपुर १ केन्द्रमोड बस्ने ३६ वर्षिया नानी भनिने छबिमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै टेम्पोमा सवार सोहि ठाउँका करिव ४० वर्षीय डम्वरबहादुर लिम्वुको ओमसाई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्का घाईते टेम्पो चालक सोही ठाउँका ४२ वर्षीय नरबहादुर लिम्वुको उपचार भईरहेको छ । उनको टाउको, खट्टामा चोट लागेर अबस्था गम्भीर रहेको छ । दुवै सवारी साधन प्रहरी चौकी पृथ्वीनगरको नियन्त्रणमा छन् । दुर्घटनापछि ट्याक्ट्रर र ट्याक्ट्रर चालक कचनकवल ३ बस्ने ३३ वर्षिय सागरसिंह राजवंशीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।