बिर्तामोड , साउन १ । बिर्तामोड नगरपालिका पशुपन्छी शाखाले वडा नं ९ को बद्रीबाडी बाख्रापालक समूहलाई बाख्रा हस्तान्तरण गरेको छ ।

कार्यक्रममा नगर प्रमुख ध्रुबकुमार शिवाकोटी, पशुपन्छी विकास शाखा प्रमुख सावित्राकुमारी दाहाल, बिर्तामोड ९ वडा अध्यक्ष पवित्रा पाठक, पशु शाखा प्राविधिक बिष्णु भट्टराईलगायतको उपस्थिति थियो ।
बद्रीबाडी बाख्रापालक समूहकी अध्यक्ष सावित्रा सिटौलाका अनुसार समूहका १५ सदस्यलाई प्रतिसदस्य ३ वटाको दरले ४५ वटा बाख्रा प्रदान गरिएको हो । यसअघि नै बीउ बोयर बोका सो समूहलाई हस्तान्तरण गरिसकिएको थियो ।
नगर प्रमुख पकेट बाख्रा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख शिवाकोटीले नगरपालिकाले दिएको ३ वटा बाख्राबाट अर्को साल उत्पादन गरेर ३ वटा बाख्रा फिर्ता गरी यस कार्यक्रमलाई सहयोग गरिदिन आग्रह गरे । कार्यक्रममा बद्रीबाडी बाख्रापालक समूहका तर्फबाट अध्यक्ष सावित्रा सिटौलाले नगरलाई धन्यवाद दिँदै बाख्रा पालेर उन्नति गर्दै फार्म खोल्ने बताईन् ।



