सुरेश आले ‘सर्जु ’
बिर्तामोड , साउन ५ । २०६३ सालमा निर्माण प्रारम्भ भएर २०६६ सालमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादबको बाहुलीबाट उद्घाटन भएको मेची आँखा अस्पताल यतिखेर झापा जिल्लाको मात्र नभएर देशकै एक परिचित नमूना आँखा अस्पतालको रुपमा स्थापित छ ।

झापा जिल्ला बिर्तामोड नगरपालिका ३ सैनिकमोडमा रहेको यो अस्पताल देशकै प्रतिष्ठित आँखा अस्पताल पनि हो । ४ विगाह क्षेत्रफलमा अत्याधुनिक भवन र मेशिनसहितको मेची आँखा अस्पतालले देशभित्रका आँखाका रोगीहरुको उपचार मात्र होइन, छिमेकी मुलुक भारतबाट आउने आँखाका रोगीहरुलाई समेत प्रभावकारी उपचार सेवा प्रदान गरिरहेको छ ।

अस्पतालले दिने सेवा सस्तो र भरपर्दो भएका कारणले मेची आँखा अस्पतालले छोटो समयमै चर्चाको शिखर चुम्यो । उपचारार्थ आउने अत्यधिक भारतीय रोगीहरुको आकर्षणले पनि यो कुराको पुष्टी गर्छ । अस्पतालमा सामान्यदेखि जटिल प्रकारको आँखाको रोगको उपचारसहित अति जटिल प्रकारको आँखाको शल्यक्रिया हुने गरेको आँखाका रोगीहरु बताउँछन् । यो अस्पतालको स्थापना भएसंगै सैनिकमोडले एक प्रकारको मेडिकल हब बन्ने अवसर पाएको हो ।
संगसंगै दृष्टी आँखा अस्पताल पछि नजिकै खोलिएर अहिले यस क्षेत्रमा २ वटा आँखा अस्पताल रहेका छन् । साथै कन्चनजंघा हस्पिटल २ विगाह १० कठ्ठा क्षेत्रफलमा यसै वरिपरि सैनिकमोडमै निर्माण भैरहेको छ । यो अस्पतालमा सबै प्रकारको रोगको उपचार हुने जनाइएको छ । सो अस्पताल ३०० बेड क्षमताको बन्न सक्ने संभावना देखिन्छ । मुटु रोग बिशेषज्ञ डा. सिपी यादबको टोली अस्पताल निर्माणमा लागिपरेको छ । परिस्थिति मिले कंचनजंघा हस्पिटलले चाँडै सैनिकमोडबाट सेवा संचालन गर्ने जनाएको छ । योसहित सैनिकमोड ३ वटा ठूला अस्पतालले सेवा दिनेछन् ।

सैनिकमोडमा चश्मा र आँखाका औषधि पसलहरु उल्लेख्य संख्यामा रहेको पाईन्छ । सैनिकमोडमा २५ वटा चश्मा पसल खोलिएका छन् । मेची आँखा अस्पताल र दृष्टि आँखा अस्पताल वरिपरि साथै भित्रपट्टी चश्मा र औषधि पसलहरु संचालित छन् ।
त्यति मात्र होइन, अन्य ६ वटा मेडिकल पसल समेत सैनिकमोडमा संचालनमा आईसकेका छन् । सबैभन्दा पुरानो मेडिकल पसल संचालन गरेर बसेका चौधरी मेडिकल हलका संचालक हरिनारायण चौधरीले निकट भबिष्यमै सैनिकमोड मेडिकल हब बन्न सक्ने संभावना देखेका छन् । उनले सैनिकमोडमा मेडिकल संचालन गरेको २१ वर्ष भयो । उनले भने, ‘यस्तै हो भने सैनिकमोड निकट भबिष्यमै पूर्वको प्रतिष्ठित मेडिकल हब बन्न सक्ने संभावना रहेको छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्