भद्रपुर,साउन ७ । कचनकवल ३ स्थित राजवंशी समाज विकास समितिको भवन निर्माणको रकम कामभन्दा बढी भुक्तानी गरेर प्राविधिकले ठेकेदार पोसेको स्थानीयले आरोप लगाएका छन् ।

प्रदेश १ सरकारको सशर्त अनुदान तथा गाउँपालिकाको साझेदारीमा निर्माण भइरहेको भवनका लागि यस वर्ष ६६ प्रतिशत काम पूरा भएको विवरण बनाई गाउँपालिकाले ५० प्रतिशत पनि काम नगरी रकम भुक्तानी दिएको स्थानीयले आरोप लगाएका हुन् । एक करोड ३० लाख निर्माण लागत रकम स्वीकृत सो भवन निर्माणका लागि ६०÷४० को सहकार्यमा निर्माण सम्पन्न गर्ने सर्तसहित काम अगाडि बढेको थियो ।

प्रदेश १ लेखा इकाई कार्यालय झापाको विवरण अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाले भवन निर्माण वापत तीन किस्ता गरी असार मसान्तसम्ममा एक करोड रकम निकासा लगिसकेको छ । ६६ प्रतिशत काम सम्पन्न भएको प्राविधिक टोलीले तयार पारेको प्रगति विवरण पेश गरी रकम लगेकाले काम पूरा भएको विश्वास लेखा कार्यालयले राखेको छ ।

यता नेपाल पूर्वाधार कन्स्ट्रक्सन ललितपुरले सो भवन निर्माणका लागि भ्याटसहित ८३ लाख ४० हजार ४ सय ६५ पैसामा मात्र ठेक्का कवोल गरी कामको जिम्मा लिएको देखिएको छ ।
स्थानीय हरि बस्नेत भवन निर्माणमा प्राविधिक पक्षले ठूलो आर्थिक चलखेल गरेर आधा काम पनि सम्पन्न नहुँदै पूरै रकम भुक्तानी लिएको प्रष्ट देखिएको बताउँछन् । उनले गाउँपलिकामा सो भवनको प्रगति विवरण तथा भुक्तानीबारे तथ्याङ्क माग्दा नदिएको गुनासो समेत गरेका छन् ।
यस्तै नेपाल तरुण दल झापा क्षेत्र नम्बर ३ का सभापति खड्गबहादुर लिम्बूले भवन निर्माणमा भ्रष्टाचार भएकाले अविलम्ब कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्