संसार विशाल छ । यहाँ धेरै देश छन् । देश अनुसार सबैका आ– आफ्नै भेष छन् । भेष मात्र होइन सबैका फरक फरक फेस छन । त्यसमा हाम्रो देश नेपालको बारेमा सम्बोधन गर्न चाहन्छु बहुजाति , बहुभाषी, बहुसंस्कृति , बहुधर्म भएको । विविधतामा एकता भएको देश हो । प्राकृतिक सौन्दर्यले परिपूर्ण भएको देश । हिमाल , पहाड र तराईको संगम भएको देश । संसारकै बिचित्र भौगोलिक बनावट भएको हाम्रो देश । एउटा सुन्दर फुलवारी हो हाम्रो देश । प्रकृतिले सबै कुरा सुन्दर दिएका छन् । यस सुन्दरतामा कति कविले कविता रचेका छन् ,सबैका मन हरेका छन् , प्रशिद्धि कमाएका छन् । हाम्रो देश नेपाल वाल्मीकि ऋषिले तपस्या गरेको देश, अठार पुराण लेखिएको देश करोडौं पुण्यभूमि भएको देश, विभिन्न तीर्थस्थल भएको देश तर दुखको कुरा के छ भने जातको नाममा , धर्मको नाममा , पार्टीको नाममा , सानो वर्ग– ठूलो वर्गको भिन्नताको कारण हिंसा गर्ने गरेको पाइन्छ । बलिया बाठाले आफूभन्दा कमजोर व्यक्तिलाई शोषण गरेको पाइन्छ । कतिपय स्थानमा निर्दोष , निरीह छोरीचेलीको बलात्कारपछि हत्या भएको पाइन्छ । साह्रै दिल दुख्छ कति निष्ठुरी मन ।

हुन त, अप्रत्यक्ष रुपमा पुरुष पनि पीडित भएको छ तर न्यून संख्यामा । इज्जतको नाममा कति आफ्नो पीडा लुकाउन विवश छन् । इज्जत नामको झण्डा भिरेर पीडा लुकाएर बस्नु कतिको उचित हो ? हामीलाई इज्जत चाहिदैन , मुटु दुखाएर बाँच्ने जीवन , दिल खोलेर बाँच्न सकुम् । मानसिक र शारीरिक रुपमा स्वस्थ भएर बाँचौँ । इज्जतको नाममा आफ्नो अधिकार नगुमाऔं । इज्जतको नाममा चुप लागेर बस्नेहरु मानसिक रोगी भएको देखेँ । तपाईं चुप लागेर बस्नुहोस् तपाईको कुरा काट्ने मान्छे पनि भेट्नु हुन्छ र समर्थन गर्ने पनि , केही नौलो काम गर्नुहोस् त्यसमा पनि समर्थन गर्ने पनि भेट्नु हुन्छ र कुरा काट्ने पनि । त्यसैले तपाईंको हृदयले राम्रो मानेको काम गर्नहोस् परिणाम जस्तो भएपनि कर्ममा रमाउनु होस् । अरुको आलोचनादेखि नडराउनुहोस् । बरु त्यो आलोचनाबाट नयाँ कृतिको सिर्जना गर्नुहोस् मेरो शुभकामना छ प्रिय पाठक बृन्द । यहाँ सबैले सम्मान त मरेपछि दिन्छन् । हिजोसम्म तपाईंको कुरा काट्नेले आज मर्दा भरपूर सम्मान दिन्छन् । त्यसैले सम्मानको भोको होइन अपमानको पोकोलाई प्रेम गर्नुहोस् । अघि बढ्नुहोस् । अब प्रसंग अलिक फरक जुन मैले देख्ने सपना जहाँ अरुले नराम्रो देख्छन् । खराब देख्छन् । आफ्नो भाषा धर्म , संस्कृति , जात मात्र श्रेष्ठ हो भनी लडाइ गर्छन् । त्यसमा मेरो सपना छ मेरो आफ्नो रचना छ । म हरेक जातजाति, संस्कृति , भाषा– भाषीलाई फुलको रुपमा हेर्ने गर्छु ।कसैको भाषा लाँलीगुरास जस्तो लाग्छ , कसैको भाषा लालुपाते त कसैको भाषा सुनखरी जस्तो लाग्छ ।

संस्कृति त झन् बेजोडको छ मालती फुलको जस्तो मगमग वास्ना दिने अनि रीतिरिवाज चालचलन बाबरी फुल जस्तो लाग्छ र जातजाति पत्रैपत्र भएको सयपत्री फुल जस्तो लाग्छ । मगमग वास्ना दिने हेर्दै आनन्द दिने फुल जस्तै सबै सुन्दर सुन्दर लाग्छ । म सकेसम्म वास्ना लिने अनि ती सुन्दर फुललाई नियालेर कुनै फुललाइ शिरमा राख्छु, कुनै फुललाई गलामा सजाउँछु र कुनै फुल मेरो छातीमा टासी आनन्दको महसुस गर्छु ।मस्तिष्कमा एन्डोरफिन रसायन सक्रिय भएर आनन्दले लठ्ठ पर्छु मख्ख पर्छु । तर जब जब म धर्मका कुरा सुन्छु धर्म प्रचारक गुरुहरुले आफ्नो मान्यता , आफ्नो धर्म , आफ्नो सिद्धान्तलाई मात्र सही भन्नु हुन्छ ।जुन आफूले धारण गर्नु भएको छ ।प्रायः यस्तै भेटिन्छ ।धर्मको नाममा विवाद भएको भेटिन्छ । हाम्रो धर्म राम्रो , हाम्रो सम्प्रदाय राम्रो भनेर विज्ञापन गरेको पाइन्छ र तथ्य ( शास्त्र ) जुटाएर प्रमाणित गर्नतिर जाने चलन छ । झन् हिजोआज त एउटै सम्प्रदायमा पनि विभिन्न मत विचार भएका गुरुहरु भेटिन्छ । यी धार्मिक गुरुहरु नै विवादमा फसेको देख्दा मलाई नरमाइलो लाग्छ । मेरो मनले विद्रोह गर्छ र भन्छ– यो विद्रोहले म सुन्दर सपना जन्माउने छु ।मेरो देश नेपाल मात्र होइन, विश्वलाई नै सिंगो संसार बनाउने छु । अनि फेरि राजनीतितिर पनि केही समय दिएर राजनेताको कुरा सुन्छु । जसले पनि आफ्नो मात्र पार्टी ठूलो, आफ्नो पार्टी अरुको पार्टी त लाटी भनेर लठ्ठीले हानेको देख्छु मनमनै सोच्छु सबै पार्टी आ– आफ्नो ठाउँमा ठूलो हुन्छ नि हुन त । तर यो राजनीति नै यस्तो हुँदोरहेछ । अरुलाई सानो नदेखाइ आफू ठूलो हुन नसक्ने आफू ठूलो हुन अरुलाइ होचो बनाएर मुखमा घोचो खुवाएपछि आफू ठूलो हुने बडो गजबको खेल रहेछ । बुद्धिचाल होइन शब्द जाल आफू चाहिँ माल अरु चाहि ठेलठाल भन्ने प्रकृति राजनेताको हुँदोरहेछ । नियाल्दा कहिलेकाही रमाइलो लाग्छ । जसरी नि आफू माथि हुनुपर्ने माथि जाँदा जाँदा गोडा नगल्ने माथि पुगेर डंग्रयांग तल झर्दा चाहिँ करंगको हड्डी समेत भाँचिएको देखेँ । त्यो बेला साहै्र दया लागेर आउँछ । कठै माथि माथि भन्दाभन्दै छाती नि गयो । अरुपनि मेरा मन भुलाउने विभिन्न पाटा छन् । खेलमा, संगीतमा, साहित्यमा सबैतिर मलाई आनन्द लाग्छ ।तर जब जातको कुरा आउँछ , साथको कुरा आउँछ त्यतिबेला समाजमा अनेक विचार भएका मान्छे भेट्छु अनि म त सुटुक्क चिठी लेख्छु । कसैको रिप्लाइ रवाफको हुन्छ कसैको जवाफ वरफ जस्तो हुन्छ । जुन जवाफ पौष महिनाको अति चिसो मौसममा पाउँछु अनि म कठ्यांग्र्रिन्छु । न्यानो कपडा खोज्छु त्यो कपडा भनेको मेरो सपना हो ।त्यो सपना जसले सारा विश्वलाई नै एउटा परिवार बनाउन सकुम् ।

सिंगो विश्व नि एउटा परिवार बनोस् ।जस्तो जस्तो भाषा भए पनि, जात भए पनि संस्कार , रीतिरिवाज भएपनि सबैले सबैको संस्कृतिलाई प्रेम गरौं सम्मान गरौँ ।सबै प्रेम र सम्मानका भोका छन् ।हिन्दु , बौद्ध , मुस्लिम , क्रिश्चियन जुन जुन धर्म माने पनि सबैलाई आदर गर्न सकुम् सबैको मर्म बुझांै आ– आफ्नो इच्छा अनुसार आफ्नो मुक्तिको मार्गमा हिड्नका लागि हृदयले अपनाएको धर्मलाई आत्मसात गरौँ । तर कसैलाई पिर नपारांै ।सबैले सबैको धर्म संस्कृतिलाई फुलबारीको फुल सम्झी नियाल्ने गरौँ । फुलबारी फुल हरेक किसिमका हुन्छन् । तर सबै फुलको महत्व एउटै हुन्छ जति किसिमका भएपनि । जसले संसार सजाउँछ तपाईंको घरलाई वरपरको वातावरणलाई सुन्दर बनाउँछ । हामीले फुल सम्झेर हरेक जातजाति , भाषाभाषी , संस्कृति धर्मलाई नियाल्ने हो भने सबै सुन्दर सुन्दर लाग्छ । सबैले वास्ना दिएको अनुभूति हुन्छ । वातावरण सुन्दर भएको महसुस हुन्छ ।त्यसैले विश्वभर छरिएर रहेका सबै मानवलाई आफ्नो परिवारको सदस्य सम्झौं । हृदयलाई विशाल बनाऔं ।सबैलाई आफ्नो दिदीबहिनी , दाजुभाइ , आमाबुबा सम्झेर व्यवहार गरौं ।सारा विश्वलाई एउटा फुलबारी बनाऔं । मानव भन्ने पहिचान हामी आफैंले बनाऔं ।आजैदेखि यो अभियान चलाऔं ।अब नयाँ सुन्दर संसार सजाऔं । मनको यो मेरो आवाज सबैको जीवनको सार बनोस् । सिंगो विश्व नै अब हाम्रो परिवार बनोस् । चाहे हिन्दु होस्, चाहे बौद्ध होस् ,चाहे मुस्लिम होस् , चाहे क्रिश्चियन होस् आखिर सबैको मार्ग मुक्तिको द्वार बनोस् ।आखिर सबैको खोज मुक्तिकै त हो सुखकै त हो ।आखिर सबैले आफूलाई सुखी बनाउन आनन्दित बनाउन आफ्नो मान्यता अनुसार धर्म अपनाउने गर्छन् ।आखिर यो संसार मान्यताको आधारमा चलेको छ ।

सूर्य हरेक दिन बलेको छ ।यहाँ धर्तीमै अन्नपात फलेको छ । सूर्यमा फलेको छैन । त्यही सूर्यको कारण फलेको छ ।त्यसैले हरेक मानवलाई महत्वपूर्ण मानौँ ।सबैलाई आफ्नो परिवार ठानौं । मानव मर्म बुझौं । अब मानव धर्म जानौं । मानव बन्न सिकौं ।अशान्ति , हत्या हिंसालाई रोकौं । सबैलाई आफ्नो देखौं ।मेरो विद्रोहले जन्माएको सपना पूरा गर्न हामी सबै जुटौं ।आउनुहोस् एकताको माला गासौं । मनमा सद्भाव राखौं । प्रेम बाँडी हासौं ।एउटै परिवार बनी हामी मीठो गीत गाई नाचौं । मनमा सुन्दर भाव राखांै । विद्रोहले जन्माएको सपना पूरा गर्नतिर अब लागौं ।सबै जीवन सुन्दर बनोस् मेरो यहि शुभकामना छ । सदैव मेरो हात छ प्यारा पाठवृन्दको साथ छ ।हामी सबैको भविष्य सुन्दर बनोस् हृदयले यो विश्व मेरो परिवार हो भनोस् ।चाँडै विश्वमा शान्तिको कान्ति छाओस् । मेरो सपना विपनामा रमाओस् ।आत्मीय पाठकवृन्द आजलाई यति नै फेरि नयाँ अनुभव र अनुभवका साथ भेट्ने बाचा गर्दै सबैको मंगल होस् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्