झापा , साउन १२ । झापाको बिर्तामोडबाट एक साताअघि हराएका दुई दिदीबहिनीलाई भारतको मोतिहारीबाट उद्धार गरिएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. २ बस्ने २१ वर्षिया र उनकी १५ वर्षिया बहिनीलाई भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरिएको हो ।ती दिदीबहिनी साउन ४ गते घरबाट हराएको उनीहरुका हजुरआमाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा हुलियासहित निवेदन दिएकी थिइन् । खोजतलास गर्नेक्रममा उनीहरुलाई बिर्तामोड बस्ने लक्ष्मी दास र सुनसरी ईटहरी बस्ने खुस्बुले ललाईफकाई आरकेस्ट्रा काम गर्नको लागि भारतको मोतिहारी जिल्लाको छौडादानी लगेकोले जिल्ला प्रहरी कार्यालय पर्सा र माइती नेपाल बिरगंजको सहयोगमा उद्धार गरिएको थियो । ती युवतीहरुलाई माइती नेपाल बिरगञ्जको सेन्टरमा राखी आफन्तलाई बुझाउने पहल भइरहेको छ । त्यस्तै भारत लैजाने लक्ष्मी दास र खुस्बुलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि ईप्रका बिर्तामोडतर्फ ल्याउने पहल भइरहेको जल्ला प्रहरी कार्यालयले जनाएको छ ।