सपना आचार्य,
माई, साउन १२ । गएको आर्थिक वर्षमा ईलामको माईमा १ सय ५९ जना सुत्केरीहरुले नगरका तीन स्वास्थ्य संस्थाबाट बर्थिङ्ग गराएका छन् ।

सुत्केरी घरमै गराउनेको संख्या घटाउन र बर्थिङ्ग सेन्टरमा सुत्केरी गराउन प्रोत्साहन गर्नेगरी उपमेयर सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत विपन्न परिवारका सुत्केरी महिलालाई नगरपालिकास्थित महिला तथा बालबालिका शाखाले विभिन्न पोषण सामग्री वितरण गरेको हो । नगरपालिकाले नगरभित्र रहेका तीनवटा वर्थिङ सेन्टरमा सुत्केरी गराउने महिलाका लागि पोषणयुक्त सामग्री प्रदान गरेको माईका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए । दानाबारी, महमाई र चिसापानीमा रहेका वर्थिङ सेन्टरमै सुत्केरी गराउनेहरुका लागि नगरपालिकाले नगद पाँच हजार रुपैयाँ प्रोत्साहन र बाँकी यातायात खर्चवापत रकमसहित ७ हजार ८ सय समेत प्रदान गर्ने गरेको प्रमुख कट्टेलको भनाई छ ।
‘घरमा नभई वर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराऊन् भन्ने उद्देश्यले महिलाहरुलाई प्रोत्साहन गरिएको माई नगरपालिकाका उपमेयर बिष्णु माया आचार्यले बताइन् । नगरपालिकाले यस्तो कार्यक्रम ल्याएपछि आर्थिक वर्ष २०७७÷०७८ मा वर्थिङ गराउनेको संख्या बृद्धि भएको छ । यस आर्थिक बर्षमा तीनवटा बर्थिङ्ग सेन्टरबाट सुत्केरी गराउनेको संख्या १ सय ५९ जना पुगेको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष एक सय जना महिलाले मात्र वर्थिङ सेन्टरमा सुत्केरी गराएका थिए । उपमेयर सुत्केरी पोषण कार्यक्रमअन्तर्गत पाँच किलो वास्मती चामल, एक किलो चना, एक किलो केराउ, आधा किलो घिउ र एक किलो हर्लिक्स तथा आइरन टोसिक पोषणका रुपमा प्रदान गरिएको छ ।
थोरै सामग्री भएपनि सुत्केरी महिलाका लागि यो खानाले ठूलो राहत मिलेको पोषण सामग्री पाएकी माई नगरपालिका–६ की सरिता कार्की बताइन् । कार्की जस्तै माई–९ की सपना चेम्जोङ, माई–१० की रेनुका राईलगायतले पोषण सामग्री पाएर खुशी भएका छन् । उपप्रमुख सुत्केरी पोषण कार्यक्रममार्फत विपन्न परिवारका सुत्केरीलाई लक्षित समुहसम्म सेवा पुर्याउन पाएकोमा सकारात्मक प्रभाव परेको भन्दै चालू आर्थिक वर्षमा समेत निरन्तरता दिन बजेट बिनियोजन गरेको उपप्रमुख आचार्यले बताइन् । ‘धेरै महिलाहरु अहिले पनि असुरक्षित ढंगले घरमै सुत्केरी गराउन बाध्य छन् । त्यस्ता महिला र उनीहरुका परिवालाई लक्षित गरी वर्थिङ सेन्टरसम्म लान प्रोत्साहन गर्न यो कार्यक्रम ल्याएका छौं ’ आचार्यले भनिन् ‘गत वर्षभन्दा यो वर्ष वर्थिङ सेन्टरमा सुत्केरी गराउने बढेका छन्, समुदायमा सचेतना निकै बढेको पाइयो ।’

यसैबीच गत बर्षको अन्तिम चौमासिक अन्तरगतको पोषिलो खानेकुरासंगै अपाङ्गता भएका ब्यक्तिहरुलाई मंगलवार सहायक सामग्री चिसापानी स्वास्थ्य चौकीमा वितरण गरिएको छ । उपमेयर आचार्य, स्वास्थ्य शाखा प्रमुख कट्टेल, पत्रकार विमल दहाल, स्वास्थ्य ईन्चार्ज छत्र दर्जीलगायत स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सुत्केरी महिलाहरुलाई पोषण सहयोग र अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको हो । सोमबार महमाईमा वितरण गरिएको थियो भने बुधबार दानाबारीमा वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्