मनोरञ्जनका विभिन्न साधनहरु पाइन्छन् ।जसमा पुस्तक , गीत संगीत , खेल , भ्रमण , सिनेमा आदि पर्दछन् । यसमध्ये आज म मनोरञ्जनको साधन सिनेमाको बारेमा चर्चा गर्ने अनुमति चाहन्छु मेरा प्यारा पाठकवृन्द !

सिनेमाबाट पाइने व्यबहारिक शिक्षाको बारेमा अवगत गराउन चाहन्छु । हामीमध्ये प्रायः धेरैजसोले सिनेमा मनोरञ्जनका लागि हेर्ने गरिन्छ । तर सिनेमाबाट मनोरञ्जनका साथसाथै हामीले जीवन्त उपयोगी ज्ञान पनि हासिल गर्न सक्छौं ।सिनेमा एउटै सुत्रको सेरोफेरोमा निर्माण गरिएको हुन्छ जसमा हिरो– हिरोईन , भिलेन र जोकरको भूमिका रहेको हुन्छ ।अर्थात सिनेमा हिरो–हिरोईन त्यसपछि भिलेन र अन्त्यमा जोकरको सेरोफेरोमा घुमेको हुन्छ ।यसरी त्रिकोणात्मक रुपमा सिनेमा घुम्ने गर्छ – हिरो, हिरोईन , भिलेन र जोकर । यहाँ हिरोको काम पुरुषार्थ गर्नु , भिलेनको काम अपराध गर्नु र जोकरको काम हँसाउनु हुन्छ ।

हिरोले पुरुषार्थको साथसाथै गीत गाउने , नाच्ने , रुने र हाँस्ने गर्छ । यसको विपरित भिलेनको कुरा गर्दा पुरुषार्थ त भिलेनले पनि गर्छन् । बडो साहसिक काम गर्छन् भिलेनले पनि तर, हिरोको पुरुषार्थ र भिलेनको पुरुषार्थमा फरक दृष्टिकोण रहेको पाइन्छ । भिलेन सामान्यतयाः कहिले नाच्दैनन् ।यदि नाचिहाले पनि अर्काको पीडामा खुशी भएर उपहास उडाएर नाच्छन् ।त्यसैले हामीले यहाँ के याद गर्नुपर्छ भने पुरुषार्थ हिरो र भिलेन दुबैले गर्छन् तर भिलेनले हाँस्नु , नाच्नु , रुनु जस्ता मानवीय कुरालाई अँगालेको देखिदैन जबकि हिरोमा ती मानवीय गुण विद्यमान रहेको पाइन्छ । अहिले पनि कतिपय मान्छेको मानसिकता हाँस्नुलाई उताउलोपना र रुनुलाई कमजोरी ठान्छन् । एक पटक विचार गर्नुहोस् त धर्तीमा हाँस्नु र रुनु मान्छेले बाहेक अरु कसले गर्न सक्छ ? रुने र हाँस्ने त आखिर मान्छे नै हो ।मान्छेबाहेक अरु प्राणी न खुलेर हाँस्न सक्छन् न खुलेर रुन सक्छन् ।त्यसैले हामीले के बुझ्नुपर्छ भने हाँस्नु र रुनु उताउलोपन होइन , कमजोरी होइन यो त मानवीय पन हो संबेदनशीलता हो ।यो त अभिव्यञ्जना हो । यो अभिव्यञ्जना यो संवेदनशीलता मान्छेले बाहेक अरु प्राणीले देखाउन कहाँ सक्छ र ? चिन्तन गर्नुहोस् त । हेर्नुहोस त सिनेमामा भिलेनहरुले नाच्ने , गाउने, रुने हाँस्ने गर्दैनन् र त उनीहरु भिलेन भए ।भिलेनले प्रेम पनि देखाउँदैन बरु प्रेमको ठाउँमा बलात्कार गर्न खोज्छ ।ऊ हाँसोको नाममा अरुलाइ गिज्याएर , खसालेर क्रुर हासो हाँस्छ ।ऊ रुनुको नाममा आफ्नो क्रुर रिसलाई पोख्न खोज्छ त्यसैले ऊ भिलेन भयो ।यहि हो पाठकवृन्द ! भिलेन सुत्र ।

अब जोकरतिर प्रवेश गरौं ।जोकर हाँस्छ, रुन्छ जोकरहरुको काम नै हाँस्नु– हँसाउनु हो उनीहरु कहिलेकाही रुन्छन् पनि ।जोकरमा पनि हिरोमा हुने गुण हाँस्ने , नाच्ने , रुने देखिन्छ तर हिरो र जोकरबीच गहिरो फरक छ ।हिरोजस्तै जोकर नाच्छ , गाउँछ , हाँस्छ , रुन्छ तर साहस गर्दैन , पुरुषार्थ गर्दैन ।साहस नगरेको हुनाले ऊ जोकर हुन्छ । तर भिलेनले हिरोले जस्तै साहस गर्छ । कतिपय मामिलामा हिरोले भन्दा ठूलो दुस्साहस पनि गरेको देखिन्छ ।तर यति हँुदाहुँदै पनि भिलेन हिरो होइन किनभने उसमा संबेदनशीलता , मानवीय गुण जुन हिरो हिरोईनमा पाइन्छ उसमा पाइदैन ।यो फिलिमको सुत्र हाम्रो जीवनको सुत्र बन्न सक्छ मेरा प्यारा पाठकवृन्द ! जीवनको मार्गदर्शक बन्न सक्छ ।त्यसकारण तपाईं हामी कहाँ छौँ ? यसलाई हामीले जान्नुपर्दछ ।

जीवनमा हामीले हिरो बन्नु छ भने साहसको साथमा पुरुषार्थको साथमा मानवीय संवेदनशीलतालाई थप्नुपर्दछ ।यसको मतलब हाँस्नु , गाउनु , नाच्नु , रुनुको साथसाथै गाह्रो कामलाई रोज्नु किनकि गाह्रो काम फलपूर्ण हुन्छ , अर्थपूर्ण हुन्छ ।सुरुमा गाह्रो लाग्ने काम बिस्तारै सजिलो बन्दै जान्छ ।तर सजिलो काम रोज्दा कम फलहिन हुन्छ ।यदि फल नै दिए पनि त्यसले तृप्ति गराउन सक्दैन ।यसकारण हिरोको मुख्य काम भनेको साहस हो ।गाह्रो कामलाई रोज्ने साहस ।कठिन परिस्थितिहरुसंग जुध्ने साहस त्यहि साहसले मान्छेलाई हिरो बनाउँछ ।भिलेन त्यहि काम गर्दा ऊ हिरो बन्न सक्दैन किनभने भिलेनले हाँस्ने, रुने , नाच्ने जस्ता मानवीय गुणलाई जीवनमा ल्याउदैन उसले अरुप्रति प्रेम दर्शाउँदैन रुनुलाई कमजोरी ठान्छ , हाँस्नुलाई उताउलो सम्झिन्छ र त ऊ भिलेन हुन्छ ।साहसको बावजुद पनि हामी सम्पूर्ण आमाबुवाले पनि यी गुण हटायौ भने हामी छोराछोरीको लागि भिलेन नै बन्छौं ।जसको घरमा बुवा हाँस्नु हुन्न त्यो घरमा छोराछोरीले नहाँस्ने बाबुलाई बाहिरबाट बाबु भने पनि भित्रभित्रै राहु जस्तै ठानेर डराउँछन् ।यसकारण यहाँ हामीले के बुझ्नुपर्छ भने संबेदनशीलता र साहसको जोड नै हिरो बन्ने सुत्र हो ।यसले नि हामीलाई महान बनाउँछ ।हाम्रो समाजमा अधिकाशको जीवन भिलेन जस्तो नभएर जोकरजस्तो जीवन बाँचिरहेको भेटिन्छ ।

खाली छुद्र कुरामा मात्र मनोरञ्जन गर्ने , हाँस्ने हँसाउने , नाच्ने नचाउने नाटक गर्ने सबै कुरा जारी छ तर यसले हामीलाई भिलेन बनाउँदैन , हिरो हिरोईन पनि बनाउँदैन किनभने यी कुरामा एउटा कुरा थप्नुपर्छ – साहस ! यसको मतलब महान काम गर्ने जमर्को , कठिन कामलाई स्वीकार्नु हो ।आत्मीय पाठकवृन्द, तपाईं हामी पनि जोकरबाट उठेर , भिलेनबाट उठेर हिरो बन्न सक्छौं । यसको लागि हामीले पूर्वाधार तयार गर्नुपर्छ हामी को हौं ? चिन्नु पर्छ र आफूलाई बदल्ने चुनौतीलाई स्वीकार गर्नुपर्छ ।यसको लागि हृदय खुल्ला पार्नुपर्दछ । हिरोमा हुने आधा गुण जोकरमा पनि हुन्छ त्यो हाँस्ने – हँसाउने , नाच्ने – नचाउने , रुने आदि तर साहस हुँदैन र जोकर भएको हो तर यसमा साहस जोडेको खण्डमा हिरो बन्न सकिन्छ त्यस्तै भिलेनमा पनि हिरोमा हुने आधा गुण हुन्छ त्यो हो साहस त्यो साहसमा मानवीय गुण थप्न सके मानवीय संवेदनशीलता हाँस्नु , रुनु, नाच्नु , गाउनु जस्ता मानवीय गुण थप्न सके हिरो बन्ने सम्भावना पक्का छ ।त्यसैले हाँस्नु , गाउनु , नाच्नु , रुनु , प्रेममा डुब्नु यी कुरामा साहस जोडिएको खण्डमा त्यो मान्छे आज भिलेन भए पनि भोलि हिरो बन्न सक्छ ।

यसको ज्वलन्त उदाहरणको रुपमा रत्नाकर जस्तो डाकु पछि वाल्मीकि ऋषि बने ।यसबाट के शिक्षा पाउन सकिन्छ भने मान्छे सानैदेखि चिल्लो पात हुनुपर्छ भन्ने छैन ।खस्रो पात भए पनि फरक पर्दैन ।त्यस्तै हाम्रो जीवन पनि जोकर जस्तो बाँचे पनि हुन्छ , भिलेन जस्तै जीवन बाँचे पनि हुन्छ तर यसमा मानवीय संबेदनशीलता र साहस थप्दै जानु ठूलो कुरा देखिन्छ विकास गर्दै जानुपर्ने देखिन्छ ।त्यसैले हामी जतिसुकै मूर्ख भएता पनि चुनौतीलाई स्वीकार्दै जाने हो भने उठ्न सकिन्छ नि । हामी जोकर भएर गम छैन आत्मीय पाठकवृन्द त्यसैगरी हामी अपराधी भिलेन भएर बाँच्दा पनि गम गर्ने ठाउँ नि हँुदैन ।पाठकवृन्द, अब हामीले यसमा हिरोमा विद्यमान मानवीय गुणहरु थप्दै जानुपर्छ बस् अनि हाम्रा लागि यो संसार अर्थपूर्ण हुनेछ, महत्वपूर्ण हुनेछ , सुगम हुनेछ , सरल हुनेछ , बाँच्न योग्य ठाउँ हुनेछ ।यहि व्यबहारिक शिक्षा हामीले सिनेमाको सेरोफेरोमा पाउन सकिन्छ ।त्यसैले आत्मीय पाठकवृन्द तपाईं अहिले जुन अवस्थामा हुनुहुन्छ त्यहाँबाट हिरो बन्ने यात्रा तय गर्नुहोस् ।भिलेन भए मानवीय संबेदनशीलतालाई थप्दै जानुहोस् र जोकर भए साहसलाई जोड्नुहोस् हिरो बनेर जीवन जीउनुहोस मेरो तर्फबाट सफलताको शुभकामना छ ।र हिरो बनेर जीवन जिउँदै हुनुहुन्छ भने बधाई छ ।आजलाई यति नै नयाँ अनुभूति र अनुभवको साथ फेरि भेट्ने वाचा गर्दछु सबैको मंगल होस् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्