रामप्रसाद ढुंगेल,
युएई , साउन १३ । लामो समयदेखि युएईमा रहेर अन्तर्राष्ट्रिय रुपमा साहित्यिक गतिविधि गर्दै आएको सगरमाथा साहित्य प्रतिष्ठानले घोषणा गरेको अक्षयकोष लक्ष्यनजिक पुगेको छ ।

न्यूनतम १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्धेश्यका साथ रकम संकलन अभियान सुरु गरेको प्रतिष्ठानले अहिलेसम्म ८ लाख ५९ हजार १८ रुपैयाँँ कबुल गराउन सफल भएको हो । प्रतिष्ठानमा आवद्ध सदस्यसहित अहिलेसम्म ४६ जनाले प्रतिष्ठानले स्थापना गर्न लागेको अक्षयकोषको लागि रकम दिने घोषणा गरिसकेका छन् । जसमध्ये प्रतिष्ठान बाहिरका १६ जनाबाट १ लाख २६ हजार ७ सय ६७ रुपैयाँ कबुल भइसकेको छ । सो रकम प्राप्त भएपछि उनीहरुलाई सम्मानपत्रसहित प्रतिष्ठानको आजीवन सदस्यताको प्रमाणपत्र दिइने प्रतिष्ठानका प्रवक्ता राजेशराज गड्तौलाले बताएका छन् ।
अक्षयकोषका लागि रकम दिने घोषणा गर्ने सबैलाई प्रतिष्ठानले प्रशंसापत्रको ब्यवस्था गरेको र सो प्रशंसापत्र प्रतिष्ठानको फेसबुक पेजमा प्रकाशित समेत हुँदै आएको छ । भाषा, साहित्य कला तथा गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति वा संस्थालाई हरेक वर्ष सगरमाथा वर्ष पुरस्कार प्रदान गर्ने उद्धेश्य राखी २०८० सालदेखि लागू हुने गरी प्रतिष्ठानले १० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्न लागेको सगरमाथा साहित्य प्रतिष्ठान युएईका महासचिव डीजी शर्माले जानकारी दिएका छन् ।