बिर्तामोड, साउन १५ । होटलमा कोरोनाविरुद्धको खोप लुकाउँदा बिर्तामोड नगरपालिकाका फोकल पर्सन पक्राउ परिरहँदा नगरका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बद्मासी भएको कुरा स्वीकारेका छन् ।

लक्षित समूहले कोरोना खोप लगाउन नपाइरहेका बेला बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको एकसय भायल कोरोनाबिरुद्धको भेरोसिल खोपसहित कोभिड पर्सन ओम खड्का पक्राउ परेका थिए । शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको खोपसहित खड्का फेला परेका हुन् । कोरोनाविरुद्धको खोप मापदण्डविपरीत आफू निकटलाई मात्र दिने गरेको गुनासो आइरहेका बेला लुकाएर राखिएको खोप र फोकल पर्सन खड्कालाई स्थानीय युवाले अपरान्ह ४ बजे फेला पारेका थिए । विगत केही दिनयता जनस्वास्थ्य प्रमुख खड्काले सो होटलमा नजिकका ब्यक्तिहरुलाई बोलाएर खोप लगाउने गरेको जानकारी मिलेको थियो । खोपसहित कोभिड पर्सन नै फेला परेपछि प्रहरी टोली समेत पुगेको थियो ।प्रहरीले खोपसहित खड्कालाई नियन्त्रणमा लिएको छ । खोप लुकाएको कुरा बाहिर आइरहँदा शाखा प्रमुख पोखरेलले खड्कासहितले बदमासी गरेको बताए । उनले स्वास्थ्य शाखाका फोकल पर्सन खड्का , सिनियर अहेव दीपक सापकोटा , संगीता अधिकारीलाई खोपको जिम्मा दिइएको बताउँदै उनीहरुबाट बदमासी भएको दावी गरे । ‘सबै तालाचाबी उनीहरुसँगै हुन्थ्यो’ उनले भने ,‘बद्मासी पक्कै गरे होलान् ।’ खड्काले भने आफू होटेलमा खाना खान आएका बेला स्वास्थ्य कार्यालयले खोप ल्याइदिँदा त्यही बुझेको बताए । खड्कामाथि यसअघि पनि खोप लुकाएर प्रतिब्यक्ति १० हजार रुपैयाँ असुलेर बिक्री गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्