बिर्तामोड , साउन १६ । कोरोनाविरुद्धको खोप सकिएको भन्दै शुक्रबार देवी माविको खोप कार्यक्रम स्थगित गरियो । त्यस्तै महेन्द्र रत्न खोपकेन्द्रका सयौंलाई समेत फिर्ता पठाइयो । तर नगरपालिकासँग खोप भइभइकन पनि घण्टौसम्म लाइनमा बसेकाहरुले खोप लगाउन पाएनन् ।

होटलमा खोप लुकाएको घटना बाहिरिएसँगै स्वास्थ्य कार्यालय झापाबाट आएको खोपको विवरण माग्दा नगरपालिकासँग अझै खोप बाँकी रहेको देखियो । जुन खोप सर्वसाधारणलाई नदिईकन अरुकै लागि जोगाएर राखिएको थियो । बिर्तामोड नगरपालिकालाई स्वास्थ्य कार्यालयले ४ हजार ४११ भायल खोप पठाएको थियो । एक भायलमा दुई डोज खोप हुने गरेको छ । पहिलो दिन ३००२, दोस्रो दिन २६४६ , तेस्रो दिन २३६६ डोज लगाएको देखिन्छ । हिजो खोप सकिएको भन्दै २०० जनालाई मात्र खोप लगाइयो । जबकि नगरपालिकासँग अझै ३०४ भायल अर्थात ६१४ डोज खोप स्टक देखिएको छ । खोपको विवरणका बारेमा आफूलाई केही पनि थाहा नभएको स्वास्थ्य प्रमुख तुलसी पोखरेलले सबै विवरण सिनियर अहेब दीपक सापकोटासँग भएको बताएका थिए । सापकोटासँग विवरण माग्दा उनले त्यस्तो जानकारी दिएका छन् ।

खोप कार्यक्रमको जिम्मेवारी खोपसहित पक्राउ परेका फोकल पर्सन ओम खड्का , सिनियर अहेव सापकोटा र स्वास्थ्यकर्मी संगीता अधिकारीले लिएका थिए । उनीहरुले खोप वितरणमा मनोमानी गरेका हुन् । जसले जति मन लाग्यो त्यति खोप बोकेर गएको स्वयंं शाखा प्रमुख पोखरेल बताउँछन् ।व्यवस्थित रुपमा खोप लानुपर्नेमा ८० भायल खोप झोलामा बोकेर देवी मावि गएको उनले बताए । होटल टाइमलेस मोमेन्टमा मात्र खोप लुकाएको भेटिएको छैन , नगर प्रमुख धु्रबकुमार शिवाकोटीले आफ्नो हेवन वाटर पार्कमा लगेर आफ्ना मानिसलाई खोप लगाइदिएका छन् । त्यस्तै नगरपालिकाका स्वास्थ्यकर्मीले घरघरमा खोप लिएर गएको कुरा खुल्न आएको छ । बिर्तामोडमा कोरोनाविरुद्धको खोपमा हारालुछ भएको हो । जसको हात जगन्नाथ भनेझैं जनप्रतिनिधि र कर्मचारीले खोपमा रजाइ गरेका छन् । घण्टौंसम्म चर्को घाममा लाइनमा बस्दा पनि लक्षित समूहले खोप लगाउन पाएनन् । नगरपालिकामा आएको एक–एक खोपको विवरण उपलब्ध गराउनुपर्ने भन्दै सर्वसाधारणले नगरपालिका घेराउ गर्ने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्