बिर्तामोड , साउन १७ । कोरोनाविरुद्धको खोप लुकाएको आरोप लागेका ओम खड्कालाई स्वास्थ्य शाखाको कोभिड फोकल पर्सन नियुक्त गरेर बिर्तामोड नगरपालिकाले नीतिगत भ्रष्टाचार गरेको पाइएको छ ।

स्वास्थ्य शाखाको प्रमुखलाई कोभिडको फोकल पर्सन नियुक्त गर्नुपर्नेमा तल्लो तहका कर्मचारीलाई फोकल पर्सन तोकेर नगरपालिकाले नीतिगत भ्रष्टाचार गरेको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको डिसीसीएमसीले जिल्लाका पालिकाहरुलाई आ–आफ्ना स्वास्थ्य शाखा प्रमुखहरुलाई कोभिडको फोकल पर्सन तोक्न परिपत्र जारी गरेकोमा आफूलाई नतोकी खड्कालाई तोकिएको स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बताए । जनप्रतिनिधिका निकट मानिने खड्काको बिर्तामोड नगरपालिकामा हालीमुहाली रहेको थियो । ‘स्वास्थ्य शाखामा धेरै बेथिति थियो’उनले भने ,‘नीति नियम मिचेर धेरै काम भएका छन् ।’ दरबन्दी नै नभएको ठाउँमा दरबन्दी कायम गरेर कर्मचारी भर्ती गरिएको उनले बताए । खोप लुकाएको घटनामा मुछिएपछि खड्कालाई हिजोदखि निलम्बन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । त्यस समितिले छानबिन नसकिएसम्म खड्कालाई पदबाट निलम्बन गर्न बिर्तामोड नगरपालिकालाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्