बिर्तामोड , साउन १७ । बिर्तामोड नगरपालिकाले कोरोनाविरुद्धको खोप लुकाएको आरोप लागेका ओम खड्कालाई स्वास्थ्य शाखाको कोभिड फोकल पर्सनबाट हटाउने लगायतका निर्णय गरेपछि विद्यार्थीहरुले हिजो लगाएको ताला खोलिदिएका छन् ।

आज इलाका प्रहरी कार्यालय बिर्तामोडमा विद्यार्थीसहित भएको सर्वदलीय छलफलमा आरोपी खड्कालाई स्वास्थ्य शाखाको फोकल पर्सनबाट हटाउने , अर्को फोकल पर्सन नियुक्त गर्ने , खोप लुकाएको घटनामा दोषी पाइए खड्कालाई पदबाट बर्खास्त गर्ने , खोपको विवरण सार्वजनिक गर्ने , खोप कार्यक्रमको खर्च सार्वजनिक गर्ने , अबको खोप कार्यक्रमलाई व्यवस्थित गर्ने , वडाबाटै खोप वितरण गर्ने , उमेर समूहलाई मात्र खोप लगाइदिने , फ्रन्टलाइनर भनेर खोप नदिने, खोप कार्यक्रमको अनुगमनका लागि युवाहरुलाई स्वयंसेवक खटाउनेलगायतका निर्णय भएको छलफलमा सहभागी नेपाली काँग्रेसका नगर सभापति तथा ३ नं वडाध्यक्ष भोजराज सिटौलाले बताए । करिव ४ घण्टाको छलफलपछि ताला खोल्ने सहमति भएको उनले बताए ।

खड्कालाई कार्वाहीको माग गर्दै हिजो बिहान नेपाल विद्यार्थी संघ र क्रान्तिकारी संगठनका विद्यार्थीहरुले नगरपालिका कार्यालयमा ताला लगाएका थिए । प्रहरी नायव उपरीक्षक सन्तोष् आचार्यको रोहवरमा भएको छलफलमा नगर प्रमुख ध्रुवकुमार शिवाकोटी , प्रदेश साँसद एकराज कार्की , नेपाली काँग्रेसका नगर सभापति सिटौला , जिल्ला सदस्य जलकुमार गुरुङ , नगर उपाध्यक्ष लक्ष्मी आचार्य , नेकपा एमालेका नगर अध्यक्ष उमानाथ ओली , नगर सचिव तथा २ नं वडाध्यक्ष नगेन्द्र संग्रौला , नेकपा माओवादी केन्द्रका मोहन सुब्बासहित विद्यार्थी नेताहरु सहभागी रहेका थिए । बैठकका सहभागीहरुले बिर्तामोड क्षेत्रभित्र खड्कालाई काम गर्न निषेध गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्