दमक, साउन १९ । चीन नेपाल मैत्री औद्योगिक पार्कले स्वास्थ्य सामग्री सहयोग दिएको छ ।

सो सामग्री रसुवा नाका हुँदै नेपाल ल्याइएको थियो । ती सामग्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले मंगलबार एक समारोहका बीच दमक नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।
औद्योगिक पार्कले दिएको सहयोगमा १५ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन पनि छ । ती मेसिनले पाँच लिटर क्षमतामा उच्च गुणस्तरको अक्सिजन निरन्तर प्रवाह गर्ने बताइएको छ । ती मेसिन दमक अस्पतालमा प्रयोग गरिने छ । त्यसबाहेक उच्च गुणस्तरीय मास्कलगायत अस्पतालमा प्रयोग हुने विभिन्न सामग्री सहयोगस्वरुप दिइएको छ । ती मास्क पनि स्वास्थ्यकर्मीको प्रयोगका लागि मात्र भएको बताइएको छ ।

सहयोग सामग्री ग्रहण गर्दै दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले अहिले दमक समस्यामा रहेको बताए । महामारी बढ्नाले दमकमा पुनः निषेधाज्ञा जारी गर्नुपरेको, अस्पतालहरु फेरि पनि भरिभराउ हुन लागेको बेला सहयोग दिएकोमा औद्योगिक पार्क, चिनीयाँ सरकार तथा चिनीयाँ जनतालाई धन्यवाद दिए । उपप्रमुख गीता अधिकारीले औद्योगिक पार्क दमक तथा पुरै झापा जिल्लाका जनताको सपनाको केन्द्र भएको बताउँदै यसले विपद्का बेला गरेको स्वास्थ्य सामग्री सहयोग मूल्यवान रहेको धारणा राखिन् ।

नेपालमा महामारीले विकराल रुप धारण गरिरहेको बेला औद्योगिक पार्कले स्वास्थ्य सामग्री सहयोग गरेको हो । खासगरी एक नम्बर प्रदेशको झापा जिल्लामा महामारी तीब्र गतिमा फैलिरहेको छ । सहयोग हस्तान्तरण गर्दै पार्कका अध्यक्ष थापाले भने– ‘कोभिड महामारीका कारण विश्वले ठूलो क्षति भोगिरहेको छ । यतिबेला औद्योगिक पार्कमा चीन सरकारले बनाउने ठूलाठूला उद्योगहरु हामीले उपहारका रुपमा पाउने थियौं, तर, महामारीका कारण स्वास्थ्य सामग्री सहयोग लिनुपर्ने भयो ।’
महामारीबीचमै पनि औद्योगिक पार्कको सबै प्रक्रिया अगाडि बढाइने थापाले बताए ।
रोजगारीमा कोभिड पीडितलाई प्राथमिकता

दमकमा निर्माणाधीन चीन नेपाल मैत्री औद्योगिक पार्कमा कोभिड पीडितलाई प्राथमिकता दिइने भएको छ । दमक औद्योगिक पार्कले ठूलो संख्यालाई रोजगार दिन गइरहेको छ । सो पार्कमा कोभिडबाट मृत्यु भएकाहरुको परिवारलाई रोजगारीमा प्राथमिकता दिइन लागेको हो ।
पार्कका अध्यक्ष थापाले सहयोग सामग्री हस्तान्तरण गर्दै भने– ‘यहाँ बन्न गइरहेको औद्योगिक पार्क निर्जिव वस्तु होइन, यो पार्क यहाँका जनताको साथी हो । त्यसैले विपद्का बेला औद्योगिक पार्कले सबैलाई सहयोग गर्छ । कोभिड १९ बाट मृत्यु भएकाहरुको परिवारलाई औद्योगिक पार्कले रोजगारीमा प्राथमिकता दिनेछ ।’
कार्यक्रममा चीनको ल्हासा इकोनोमिक एण्ड टेक्निकल जोनका प्रमुख चोउ चेङग जीले पठाएको सन्देश सुनाइएको थियो । सन्देशमा चोउले महामारीको चपेटामा परेको दमक तथा आसपासका जनतालाई मनोबल उच्च राख्न आग्रह गरेका छन्। कोभिड १९ माथि चाँडै विजय पाइने विश्वास गर्दै चोउले महामारीकै बीचमा औद्योगिक पार्क निर्माण प्रक्रिया अगाडि बढाइने सन्देश पठाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्