झापा , साउन २४ । टिकटक प्रेमीहरुले नाच्ने , गाउने र रमाइलो गर्ने मात्र गर्दैनन् , उनीहरुले गरिब असहायलाई सहयोग समेत गरेका छन् ।

टिकटकमा जथाभावी बोल्ने , उच्छृंखल देखाउने आरोपका बीच असल मन भएका टिकटक प्रेमीहरु संगठित भई सामाजिक कार्यमा जुटेका छन् । पूर्व मेचीदेखि महाकालीसम्म र विदेशमा रहेका नेपाली टिकटक प्रेमीहरुले हाम्रो परिवार राम्रो परिवार नामक संस्था दर्ता गरेका छन् । गत असोजमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सो संस्था दर्ता भएको हो । त्यसमा २ सयजना आवद्ध छन् भने ६० जना सक्रिय सदस्य छन् । विभिन्न रचनात्मक कार्य गर्नेक्रममा सो संस्थाले आफ्नो १९ औं कार्यक्रमअन्तर्गत झापा नेत्रहीन संघलाई आर्थिक सहयोग गरेको छ । आर्थिक अभाव व्यहोरिरहेको नेत्रहीन संघलाई टिकटक प्रेमीहरुले ५१ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । संस्थामा आवद्ध विभिन्न टिकटक प्रेमीहरुबाट संकलन गरेर सो सहयोग गरिएको संस्थाकी सदस्य नानु पंगेनीले बताइन् । उनले रुकुम निवासी हिमाल सागरबाट १० हजार, काँकरभिट्टा निवासी रेखा लिम्बूबाट १० हजारलगायत गरी अन्य दाताबाट सो रकम संकलन गरिएको जानकारी दिइन् ।

टिकटक एप बच्चादेखि बृद्धबृद्धासम्म लोकप्रिय छ । यद्धपि यसले विकृति ल्याएको भन्दै रोक्नुपर्ने आवाज पनि उठ्न थालेको छ । टिकटकबाट जोडिएका असल मन भएकाहरुको संस्था हाम्रो परिवार राम्रो परिवार भएको पंगेनीले बताइन् । नेत्रहीन संघको कार्यालयमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका ३ का वडाध्यक्ष भोजराज सिटौला प्रमुख अतिथि रहेका थिए । उनले नेत्रहीनहरुका लागि बुक रेकर्डिङ गर्न यही साउन महिनादेखि एकजना कर्मचारीको व्यवस्था गरिदिने र त्यस कर्मचारीको वर्षभरिको पारिश्रमिक तिरिदिने घोषणा गरे । नेत्रहीन संघकी अध्यक्ष यशोदा बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तरुण दलका मदन बुढाथोकी , समाजसेवी रामेश्वर मण्डल , संस्थाका सदस्य नानु पंगेनीलगायतले बोलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्