झापा , साउन २४ । गिरीबन्धु टी इस्टेटको जग्गा किन्न लागेको भनिएका व्यवसायी दीपक मलहोत्रालाई भेट्न नपाएपछि माओवादी नेता इन्द्रबहादुर आङ्बो खरो रुपमा विरोधमा उत्रिएको खुलासा भएको छ ।

गिरीबन्धु टी इस्टेटको जग्गा स्थानान्तरण गर्ने निर्णयको विपक्षमा उनी यतिबेला उभिएका छन् । यसरी खरो रुपमा विरुद्धमा उत्रिनुको कारण खोतल्दै जाँदा उनले व्यवसायी मल्होत्रालाई भेट्न नपाएको कारण भएको एक मजदुर नेताले बताएका छन् । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशसभा संसदीय दलका नेता आङ्बोले गत साउन २१ गतेको प्रदेशसभाको बैठकमा गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गर्ने सरकारी निर्णयको तीब्र विरोध गरेका थिए । उनले निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ज्ञानेन्द्र साहले गर्न नसकेको राष्ट्रघात गरेको भन्दै यस्तो निर्णय खारेज गर्नुपर्ने माग गरेका थिए ।

प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै आङ्बोले ओली सरकारले असार २४ गतेको मन्त्रिपरिषद् बैठकबाट गिरीबन्धु टी इस्टेटको करिब ३४४ विगाह जग्गा सट्टापट्टा गर्ने निर्णय गर्नु राष्ट्रघाती र जनविरोधी भएको भन्दै उक्त निर्णय खारेजको माग गरेका थिए ।
त्यसैगरी झापाका केही विचौलियाहरुले काठमाडौंमा गएर सांसद रामकुमारी झाक्रीलाई उचाल्ने काम गरेको खुल्न आएको छ । गिरी परिवारका सुदर्शन गिरीको नाममा रहेको ५२ विगाह जग्गा बाहुण्डाँगीमा सट्टापट्टा गरी यहाँको जग्गामा बिर्तामोड बसपार्क बनाउने क्रममा ठूलै लाभ लिन सफल भएका विचौलियाहरुले काठमाडौंमा गएर झाक्रीलाई उचालेका हुन् । अरुले उचालेकै भरमा झाक्रीले भूमिसम्बन्धी ऐन संशोधन गर्न आफू समेतले सहमति जनाएको विगतको कुरा विर्सिएर केही दिनअघि संसद बैठकमा विरोध जनाएकी थिइन् । ३४४ विगाह जग्गा बिक्री हुँदा ठूलै दाउ पर्न सक्ने लोभले झापाका राजनीतिक दलका प्रतिनिधि , जनप्रतिनिधि र गन्यमान्य लागिपरेका छन् ।
यसैबीच निवर्तमान प्रधानमन्त्री ओलीले झापाको गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरणमा ‘आफूलाई फसाइए’को प्रतिक्रिया दिएका छन् ।

शनिबार आफू निकटस्थहरुसँगको छलफलमा उनले आफ्नो सचिवालयकै व्यक्तिहरुप्रति रोश प्रकट गरेका हुन् । ‘त्यो प्रकरणमा लेनदेन भएको मलाई थाहा छैन । मलाई त राम्रो मात्रै सुझाव दिए । तर, अर्बौंको लेनदेनको कुरा आएपछि म झस्किएँ,’ ओलीको भनाई उद्धृत गर्दै शनिबार ओलीसँग भेटेर फर्किएका झापाकै एक नेताले भने,‘जस–जसले यो गरेको हो । उनीहरुलाई कठघरामा ल्याइयोस् । मेरै सचिवालयका मान्छे संलग्न छन् भने पनि छाड्नु हुन्न ।’
उनी निकट ती व्यक्तिका अनुसार ओलीले तत्कालीन राजनीतिक सल्लाहकार तथा हाल एमालेका स्थायी समिति सदस्य विष्णु रिमाल र स्वकीय सचिव तथा साला नाता पर्ने राजेश शाक्यप्रति चर्को आलोचना गरेका थिए । ‘हामीलाई देखाउन उहाँले दोहोरो व्यवहार देखाउनु भएको होइन जस्तो लाग्छ । तर फेरि पनि निर्णय त उहाँकै पालामा भएको हो । उहाँमाथि आरोप छ । झापाली जनताले पनि यो विषयमा प्रश्न गरेका छन्,’ उनले भने ।

झापाको बिर्तामोड ६ र अर्जुनधारा ११ मा ३ सय ४४ विगाह जग्गा गिरीबन्धु टी इस्टेटको नाममा रहेको छ । भूमिसम्बन्धी ऐन २०२१ मा हदबन्दी भन्दा बढीको जग्गामा चिया बगान लगाइएको हो ।
पछिल्लो पटक गत माघमा संसद विघटन गरेपछि ओली सरकारले भूमिसम्बन्धी ऐनको १८ औं संशोधन गर्दै उक्त जग्गा सट्टापट्टा गर्ने तजबिजको अधिकार मन्त्रिपरिषदलाई हुने व्यवस्था गरेको थियो । गत असार २४ गते ओलीको मन्त्रिपरिषदको बैठकले गिरीबन्धुको नाममा रहेको ३ सय ४४ विगाह जग्गा किनबेच गर्न दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्