झापा, साउन २९ । पछिल्लो समय झापामा कोरोना संक्रमण ह्वात्तै बढेपछि आइपुगेको सिसिएमसिको टोलीले शुक्रवार झापा जिल्लाका कोभिड अतिप्रभावित स्थानहरूको निरीक्षण गरेको छ ।

चिकित्सकसहित सिसिएमसिका प्रमुखको नेतृत्वमा काठमाडौँबाट सुरक्षा निकायका उच्च अधिकारीसहित जिल्ला अनुगमनमा आएको टोलीले झापाका कोभिड अतिप्रभावित क्षेत्र, होल्डिङ सेन्टरसहित सीमा नाकाको हेल्थ डेस्कको निरीक्षण गरेको हो ।
निरीक्षण टोलीमा सिसिएमसिका प्रमुख बालानन्द शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रमुख भगवान कोइराला, तीनवटै सुरक्षा निकायका उच्च अधिकारीलगायत प्रतिनिधिहरूको सहभागिता रहेका थियो । टोलीले जिल्लाको कोरोना अतिप्रभावित पालिका बुद्धशान्तिले सञ्चालन गरेको आइसोलेसन सेन्टरको अनुगमन र निरीक्षण गरेको छ । टोलीले आजै जिल्ला प्रशासन कार्यालयमा डिसिसिएमसीका प्रतिनिधिसँग छलफल समेत गरेको छ ।

छलफलमा सिसिएमसिका प्रतिनिधिले जिल्लामा कोरोना संक्रमण नियन्त्रण लागि गरिँदै आएका कार्यक्रम लगायत सम्पूर्ण गतिविधिहरूको बारेमा जानकारी लिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइले जानकारी दिएका छन् ।

पछिल्लो समय झापामा परीक्षणको ६० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएकोले झापा जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान सक्ने विज्ञहरूले आँकलन गर्दैगर्दा स्वास्थ्यकर्मीसहित सिसिएमसिको टोली जिल्ला अनुगमनमा आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्