झापा , साउन ३० । कोरोना संक्रमणका कारण देशकै सबैभन्दा अति उच्च जोखिम भएर जिल्ला प्रशासन कार्यालयले झापा जिल्लाभर निषेधाज्ञा जारी राखेको छ । सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनारजस्ता कार्यहरु संचालन गर्न प्रतिबन्ध लगाइएका बेला त्यसको उल्लंघन गर्दै झापाको खुदुनाबारीमा सयौंको उपस्थितिमा भव्य कार्यक्रम गरिएको छ ।

प्रहरी प्रशासनलाई कुनै जानकारी नदिई भ्वाइस अफ नेपालका विजेता किरण गजमेरलाई बोलाएर हिजो भव्य कार्यक्रम गरिएको हो । जुकेखाडी सामुदायिक बनको सभाहलमा अर्जुनधारा ३ वडाध्यक्ष जीवनकुमार भण्डारीले प्रमुख अतिथि बनेर औपचारिक रुपमै भव्य कार्यक्रम गरेका हुन् । कार्यक्रमको आयोजक च्यारिटी युथ क्लब अर्जुनधारा ३ रहेको थियो । सभाहलमा खचाखच भीड गराई करीव हजार जनाको उपस्थितिमा भ्वाइस अफ नेपालका विजेता गजमेरलाई सम्मान गरिनुका साथै सांगीतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा विजेता गजमेरसँगै टेलिभिजन कार्यक्रम संचालक कृष्ण कँडेल , कलाकार राजेश घतानीलगायत करीव २० जना अतिथि काठमाडौंबाट आएका थिए ।

भ्वाइस अफ नेपालका विजेता गजमेर जन्मेको ठाउँ खुदुनाबारी भएकाले उनलाई बोलाएर कार्यक्रम गरिएको आयोजक च्यारिटी युथ क्लबका सल्लाहकार खगेन्द्र लिङ्देनले बताए । कार्यक्रममा वडा कार्यालयका तर्फबाट किरणलाई सम्मान गरिनुका साथै करीव ३ घण्टाजति सांगीतिक कार्यक्रम गरिएको उनले जानकारी दिए । उनले कार्यक्रममा ६ सयभन्दा बढीको सहभागिता रहेको स्वीकार गरे । कार्यक्रमको बारेमा जिल्लामा निषेधाज्ञा लगाउने डिसीसीएमसीदेखि लिएर प्रहरी प्रशासनलाई समेत जानकारी दिइएको छैन । आफूहरुलाई त्यसबारे कुनै जानकारी नभएको डिसीसीएमसीका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । ‘यदि त्यस्तो भएको हो भने पुरै गलत भएको छ’उनले भने ,‘ म प्रहरीलाई खोजी गर्न लगाउँछु र आयोजकलाई कार्वाही हुन्छ ।’
यहाँसम्म कि आयोजकले नेपाल प्रहरीलाई पनि खबर गरेका छैनन् । त्यस कार्यक्रमका बारेमा आफूलाई समेत जानकारी नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।‘हामीलाई कुनै किसिमको जानकारी छैन , कसैलाई पनि जानकारी छैन’ उनले भने, ‘ कार्यक्रम गर्नेले जवाफदेही बन्नुपर्छ ।’ यस विषयमा वडाध्यक्ष भण्डारीसँग सम्पर्क राख्दा उनले खुदुनाबारीमा जन्मिएका किरणले आफू अमेरिका गइहाल्ने भनेपछि बोलाएर कार्यक्रम गरिएको प्रतिक्रिया दिएका छन् । उनले सामान्य कार्यक्रम आयोजना गरिएकोमा पछि अचानक ठूलो कार्यक्रम बन्न पुगेको दावी गरे । ‘यस्तै हुँदो रहेछ म त्यसको कानूनी सजाय भोग्न तयार छु ’ उनले भने , ‘सिडियोले बोलाउनु भयो भने स्पष्टीकरण दिन तयार छु ।’ सभाहलमा अत्याधिक उपस्थिति भएपछि सशस्त्र प्रहरीलाई भीड सम्हाल्न गाह्रो भएको जनाइएको छ । ‘सामाजिक दूरीको त कुरै छाडौं मास्क पनि खासैले लगाएका थिएनन् ’ एक सहभागीले भने ।

त्यस्तै गजमेर बन्धु प्रतिष्ठानले पनि किरणलाई सम्मान गरेको छ । हिजै बिर्तामोडमा एक कार्यक्रम गरी प्रतिष्ठानले सम्मान गरेको हो ।
प्रतिष्ठानद्वारा पारिवारिक भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरी सम्मानपत्रसहित विजेता किरणलाई सम्मान गरिएको थियो । पछिल्लो समय झापामा कोरोना संक्रमण ह्वात्तै बढेपछि सिसिएमसिको टोलीले अनुगमन तथा निरीक्षण गरेकै दिन जिल्लामा भीडभाड गरी कार्यक्रम गरिएको हो ।