झापा, साउन ३२ । चालू आर्थिक वर्षको पहिलो एक महिनामा बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको उपचार सुविधा, राहत तथा ऋण मिनाहावापत चार लाख २९ हजार ३१६ रुपैयाँ खर्च गरेको छ ।

झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले नियमित बचतकर्ता शेयर सदस्यको स्वास्थ्य उपचारमा राहत सुविधा प्रदान गर्दै आएको छ । यस्तै शेयर सदस्यको मृत्युमा राहत प्रदान गर्ने तथा ऋणी सदस्यको मृत्यु भएमा बाँकी ऋण मिनाहा गर्ने संस्थाको नीति रहेको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए ।

सोही नीतिअनुसार पाडाजुँगी सेवाकेन्द्रका सदस्य इखमाया खवासको असार २९ गते निधन भएकाले उनको नाममा बक्यौता रहेको दुई लाख ५५ हजार ९८६ रुपैयाँ कर्जा मिनाहा गरिएको छ ।
संस्थाका सञ्चालक समिति सदस्य नबिन योगी, पाडाजुँगी सेवाकेन्द्र प्रमुख वेदप्रसाद आचार्यसहित कर्मचारीहरुले खवासको निवासमा गएर परिवारका सदस्यलाई कर्जा मिनाहाको पत्र प्रदान गरेका हुन् ।
इखमाया खवासले संस्थाबाट २ लाख ७० हजार रुपैयाँ ऋण लिएकोमा साँवा तथा ब्याज नियमित बुझाउँदै गर्दा उनको निधन भएपछि संस्थाले कर्जा मिनाहा गरिदिएको सञ्चालक सदस्य योगीले बताए ।

यसैगरी, संस्थाको धुलाबारी सेवाकेन्द्र अन्तरगत लघुवित्ततर्फका सदस्य ललिता राजवंशीको पनि असामयिक निधन भएकाले उनको नाममा बाँकी रहेको साँवा ७४ हजार १५६ रुपैयाँ मिनाहा गरिएको छ ।
संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेत, कर्जा विभाग प्रमुख कृष्णप्रसाद कडरिया, धुलाबारी सेवाकेन्द्रका प्रमुख फणिन्द्र भट्टराईसहित कर्मचारीहरुको उपस्थितिमा राजवंशी परिवारका सदस्यलाई कर्जा मिनाहाको पत्र हस्तान्तरण गरिएको हो ।
यस्तै, बुधबारे सेवाकेन्द्रका शेयर सदस्य देवीमाया भट्टराईको २०७८ साउन १३ गते भएको निधनप्रति संस्थाको तर्फबाट शोक व्यक्त गर्दै उनको नाममा बाँकी रहेको ऋण ४३ हजार ५०० रुपैयाँ मिनाहा गरिएको छ ।

संस्थाको बुधबारे सेवाकेन्द्रका प्रमुख प्रेमप्रसाद सिग्देलसहितले भट्टराई परिवारमा पुगेर मृत्यु राहत वापत १८ हजार ४०० रुपैयाँ पनि प्रदान गरेका थिए ।
संस्थाको दानाबारी सेवाकेन्द्रले पनि साउन महिनाभरमा आफ्ना पाँच जना शेयर सदस्य तथा तिनका परिवारको उपचारका लागि ३७ हजार २७४ रुपैयाँ राहत प्रदान गरेको छ ।
सेवाकेन्द्र प्रमुख ध्रुबकुमार दवाडीका अनुसार संस्थाका शेयर सदस्य बमबहादुर श्रेष्ठलाई शल्यक्रिया खर्चवापत १५ हजार रुपैयाँ र अर्का शयर सदस्य कमला श्रेष्ठ छोराको खुट्टामा लागेको चोटको उपचार गर्न ९ हजार रुपैयाँ प्रदान गरिएको हो ।
यस्तै मनिता राईलाई छोरीको उपचारवापत २ हजार ५००, मनमाया श्रेष्ठ आफैंलाई उपचार खर्चवापत ५ हजार ९१४ रुपैयाँ, इन्दिरादेवी बिष्टलाई कुकुरले टोकेको उपचार खर्चवापत ४ हजार ८६० रुपैयाँ प्रदान गरिएको सेवाकेन्द्र प्रमुख दवाडीले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्