कोरोना संक्रमणमा देशकै सबैभन्दा अति उच्च जोखिममा झापा रहेको छ । जिल्ला प्रशासन कार्यालयले लगातार निषेधाज्ञा लगाइरहँदा समेत झापामा कोरोना संक्रमणको चेनब्रेक हुन सकेन । त्यसको सट्टा कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दो क्रममा रह्यो ।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ सय १९ पुगेको छ । सोमबार मात्र कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको छ । सोमबार एकैदिन मेची अस्पतालमा तीनजनाको मृत्यु भएको हो । अर्जुनधाराका २ का ५९ वर्षिया महिला , शिवसताक्षी ८ का ७८ वर्षिय पुरुष र कमलका ७१ वर्षिया महिलाको मेची अस्पतालमा मृत्यु भएको हो । त्यस्तै इलाम फाकफोथुमका ५ का ८६ वर्षिय पुरुषको एड्भान्स हस्पिटलमा मृत्यु भएको छ । झापामा कोरोना संक्रमितको तथ्यांकलाई हेर्दा अहिलेसम्म कूल संक्रमितको सँख्या २५ हजार ९२३ पुगेको छ । त्यसमध्ये १७ हजार ९२६ जना डिस्चार्ज भएका छन् भने ३ हजार १७४ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत छन् ।

सरकारले देशका १७ वटा जिल्लालाई कोरोना संक्रमणको अति उच्च जोखिममा राखेको छ । त्यसमध्ये झापा पहिलो नम्बरमा छ । ५ सयभन्दा माथि सक्रिय संक्रमित हुने जिल्लालाई सरकारले जोखिमयुक्त क्षेत्रको रुपमा सूचीकृत गरेको छ । जबकि झापामा सक्रिय संक्रमितको सँख्या ३ हजार १७४ रहेको छ । त्यो हिसाबले झापा कोरोनाको अत्यन्त धेरै जोखिममा रहेको छ ।

यति धेरै जोखिम हुँदाहुँदै झापा जिल्लाभरि लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । व्यवसायीहरुको चर्को दवावका कारण निषेधाज्ञा खुकुलो पारिएको हो । निषेधाज्ञामा कडाइ गर्दागर्दै रोकथाम हुन नसकेको कोरोना संक्रमण अब के हुन्छ ? संक्रमण पक्कै बढेर नै जानेछ । किनकि व्यवसायीसँगै आम सर्वसाधारणले कोरोनालाई बेवास्ता गर्न थालेका छन् । जसका कारण यसको नियन्त्रण हुन सकेको छैन । पेशा व्यवसायका नाममा सुरक्षाका मापदण्ड नअपनाउने हो भने त्यसको असर स्वयं र सिंगो समुदायलाई पर्न जान्छ । त्यसतर्फ सचेत बनौं ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्