झापा, भदौ २ । भदौ महिनाको पहिलो दिन झापाबाट एकैदिन ६ जना लागूऔषध ब्राउनसुगरसहित पक्राउ परे । बिर्तामोडका तीन स्थानबाट दुई महिलासहित ६ जना ब्राउनसुगरसहित समातिए ।

मंगलबार साँझ ५ बजे बिर्तामोड १ चारपाने बस्ने २२ वर्षिया देवी तामाङको घरमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा घरधनी तामाङ र उनका साथी बिर्तामोड ५ बस्ने २१ वर्षिया सीता खतिवडालाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित ४ ग्राम ४५ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि ईप्रका बिर्तामोडमा राखिएको छ ।

त्यस्तै मंगलबार नै दिउँसो ४ बजे बिर्तामोड ५ जात्रुबारी चौकको बाटोमा ईप्रका बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ५ बस्ने २० वर्षिय रतन राजवंशी र सोही ठाउँका २४ वर्षिय सुरज चौधरीलाई शंका लागेर चेकजाँच गर्दा सुरज चौधरीको साथबाट प्लाष्टिकसहित ३ ग्राम ३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धानको लागि ईप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार दिउँसो नै बिर्तामोडको नयाँ बसपार्कबाट अर्जुनधारा वडा नं. ५ बस्ने २७ वर्षिय मनोज चौधरी र बिर्तामोड ५ बस्ने २३ वर्षिय सुमन तामाङ ब्राउनसुगरसहित पक्राउ परे । दिउँसो १२ बजे बिर्तामोड ५ स्थित नयाँ बसपार्कको मिलन चोकबाट लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा चौधरी र तामाङको साथबाट २० ग्राम ब्राउनसुगर बरामद गरी उनीहरुले सवार गरेको मे. २ प. ८६८६ नं.को मोटरसाइकलसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विगत तीन वर्षको तथ्यांक

चालू आर्थिक वर्ष २०७८–२०७९ को पहिलो साउन महिनामा लागूऔषधमा संलग्न दुई महिलासहित ३१ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध २१ वटा मुद्धा दर्ता भएका छन् । पक्राउ परेकाको साथबाट ७ सय ग्राम गाँजा र १८० ग्राम ९४० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । त्यसबाहेक अन्य लागूऔषध पनि बरामद भएको थियो । एक महिनाको अवधिलाई हेर्दा गत आर्थिक वर्षको तुलनामा झापामा लागूऔषधका घटनामा बृद्धि भएको छ । गत आर्थिक वर्षमा ३०७ जना लागूऔषधका घटनामा संलग्न पक्राउ परेका थिए । त्यसको अघिल्लो वर्ष २०७६–२०७७ मा १९१ जना पक्राउ परेका थिए भने त्यसको अघिल्लो वर्ष २०७५–०७६ मा २०० जना पक्राउ परेका थिए । त्यसैगरी लागूऔषध मुद्धा दर्ता सँख्यालाई हेर्दा २०७५–०७६ मा १२५ , २०७६–०७७ मा ११८ र २०७७–०७८ मा १९५ वटा दर्ता भएका थिए ।

यसरी तीन वर्ष र चालू आर्थिक वर्षको तथ्यांकलाई हेर्दा झापामा लागूऔषधको प्रयोग र कारोबार भयानक बन्दै गएको छ । आर्थिक वर्ष २०७५–०७६ को तुलनामा २०७६–०७७ मा लागूऔषध सम्बन्धी मुद्धा ६ प्रतिशतले कमी आएको थियो । तर , आर्थिक वर्ष २०७६–०७७ को तुलनामा २०७७–०७८ मा लागूऔषध सम्बन्धी ६५ प्रतिशतले बढी मुद्धा दर्ता भएको छ । त्यस्तै मानिस पक्राउ समेतमा बृद्धि भएको छ । भारतसँग खुल्ला सिमाना भएका कारण सिमावर्ती झापामा लागूऔषध विकराल समस्या बन्दै गएको छ । प्रहरीले लागूऔषध प्रयोगकर्तालाई पक्राउ गरेर तीब्र रुपमा कार्वाही गर्दैगर्दा यो घट्न सकिरहेको छैन । लागूऔषधमा संलग्नहरुको पक्राउ र मुद्धा दर्ताको सँख्याले नै यसको अबस्था दर्शाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । उनले लागूऔषध नियन्त्रणका लागि प्रहरी प्रशासनको तदारुकतासँगै सबै पक्ष गंभीर भएर लाग्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्