अर्जुनधारा , भदौ २ । झापाको अर्जुनधारा १ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले छापा मारेको हो । टोलीले कार्यालयका विभिन्न कागजपत्र जफत गरेको छ । क्षेत्रीय कार्यालयका अधिकृतको नेतृत्वमा आएको ४ जनाको टोलीले कार्यालयका विभिन्न कागजपत्र लिएर गएको वन उपभोक्ता समुहका आन्तरिक लेखा समिति सदस्य देवनारायण राईले बताए । उनले २०७२ सालको वार्षिक साधारणसभाको माइन्यूट , २०६७ देखि २०७० सालसम्मको आन्तरिक प्रतिवेदन , बैठकको निर्णय पुस्तिका , घाटगद्धी रजिष्टर , पाइलिङ रजिष्टरलगायतका कागजपत्र लिएर गएको जानकारी दिए । समूहको विल भौचर नभेटेपछि अख्तियारको टोलीले भोलि फेरि आउने बताएको राईले जानकारी दिए ।

वन उपभोक्ता समूहमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो । छानबिन पहिलादेखि नै शुरु भई आज गएर कागजपत्र लिएर आएको क्षेत्रीय कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताए । उनले आबश्यक कागजपत्र नभेटिएकाले भोलि पनि टोली जाने जानकारी दिए । यसअघि गत माघ महिनामा भ्रष्टाचार भएको भएको भन्दै नेपाली कांग्रेसले तालाबन्दी गरेको थियो ।नेपाली काँग्रेस वडा सभापति नेत्रप्रसाद आचार्यको नेतृत्वमा गएको काँग्रेस प्रतिनिधि तथा उपभोक्ता समूहले तालाबन्दी गरेका थिए ।
तर तालाबन्दी गरेको २४ घण्टा बित्न नपाउँदै सामुदायिक वनका अध्यक्ष चक्र तामाङले ताला फुटाएका थिए ।
हलुवागढ सामुदायिक बनमा २४ लाख भन्दा बढी आर्थिक अनियमितता भएको उपभोक्ताहरुले दावी गरेका छन् ।
झापाको अर्जुनधारा वडा नं १ मा पर्ने यस सामुदायिक वन २०५४ सालमा स्थापना भएको हो । १७ सदस्यीय उपभोक्ता समितिमा ११ जना नेकपाबाट सदस्य रहेका छन् भने ६ जनाले नेपाली काँग्रेसबाट समितिमा प्रतिनिधित्व गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्