झापा , भदौ ३ । नेकपा एमाले विभाजनपछि प्रदेश नम्बर १ को सरकार संकटमा परेको छ ।

एमाले विभाजनले निर्वाचन आयोगबाट वैधता पाएको अवस्थामा मुख्यमन्त्री शेरधन राई स्पष्ट अल्पमतमा पर्नेछन् ।
माधवकुमार नेपाल पक्षले एमालेबाट विद्रोह गर्दै एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा एमालेका ७ जना सांसद प्रस्तावित नयाँ दलतर्फ लागेका छन् । एमाले समाजवादीको पक्षमा खुल्ने सांसदहरूमा राजेन्द्रकुमार राई, राजन राई, होमकुमारी साँवा, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई र गणेशकुमार काम्बाङ्ग रहेका छन् । जम्मा ९३ जना सांसद रहेको प्रदेश १ मा दुईजना कारवाहीमा परेपछि हाल ९१ सदस्य कायम छन् ।एमालेका एक सांसद किर्तेसम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार छन् भने हाल आन्तरिक मामिला तथा कानून मन्त्री रहेका टंक आङबुहाङलाई माओवादीले दल त्यागसम्बन्धी कारवाही गरेर सांसद पदबाट पदमुक्त गराएको छ ।

हाल एमालेका सभामुखसहित ५०, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका ३ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन् । स्पष्ट बहुमतमा रहेको दल एमाले विभाजन भएपछि मुख्यमन्त्री राईको पद संकटमा पर्ने देखिएको हो । प्रस्तावित एमाले समाजवादीतर्फ लागेका ७ जना निर्णायक अवस्थासम्म कायम रहेमा विपक्षी गठबन्धनमा स्पष्ट बहुमत पुग्ने देखिन्छ । बहुमत प्राप्त दल एमाले भने अल्पमतमा झर्नेछ ।
सरकार गठनका लागि ४६ जनाको समर्थन चाहिन्छ । कांग्रेस, माओवादी र जसपा जोड्दा ३९ हुन्छ । प्रस्तावित एमाले समाजवादीमा ७ जना सांसद खुलेमा विपक्षी गठबन्धन बहुमतमा पुग्ने देखिन्छ ।
अर्कातर्फ एमालेलाई भने माधव नेपालको पक्षमा लागेका ७ मध्ये कम्तिमा ४ सांसद फर्काउनुपर्ने हुन्छ वा २ सांसदलाई फर्काएर साना दुई दलको समर्थन लिनुपर्ने हुन्छ । सभामुख एमालेको भएकाले उनीसँग सामान्य अवस्थामा मताधिकार हुँदैन ।
एमालेले पार्टी विभाजनको क्षति कम गर्न भीम आचार्यलाई मुख्यमन्त्री बनाउने विषयमा समेत छलफल गर्दै आएको छ ।

लामो समय माधव नेपाल खेमामा रहेका आचार्यलाई मुख्यमन्त्री बनाउँदा नेपाल पक्षका केही सांसद फर्काउन सकिने एमालेको विश्वास छ ।
केही दिनअघि प्रदेश १ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीले सरकारमा कति दिन रहने भन्ने टुंगो नभएको बताएका थिए ।
एमाले फुट्नुअगाडि नै प्रदेश १ को सरकार परिवर्तनका लागि माओवादी तथा कांग्रेसले पहल गरेपनि भीम आचार्य एमालेमै रहने संकेत पाएपछि पछाडि हटेका थिए ।शुरूमा भीम आचार्य माधव नेपाल समूहबाट मुख्यमन्त्रीका आकांक्षी थिए ।
भीम आचार्यले साथ छाडेपछि प्रस्तावित एमाले समाजवादीले राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने तयारी गरेको छ ।
थोरै सिट भएपनि गठबन्धनका लागि निर्णायक हुने भएकाले मुख्यमन्त्री पाउने उनीहरूको विश्वास छ ।
कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ । कांग्रेस संसदीय दलका नेता राजीव कोइराला मुख्यमन्त्रीका आकांक्षी छन् ।
माओवादी केन्द्रले भने मुख्यमन्त्रीका लागि खासै कसरत गरेको देखिन्न । यद्यपि एमाले सरकारको विकल्प खोज्नेमा भने माओवादी अग्रपंक्तिमा नै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्