बिर्तामोड , भदौ ५ । बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलले स्थापनाको छोटो समयमै लोकप्रियता कमाएको छ ।

करीव २० महिनाअघि स्थापना भएको सो हस्पिटलले देशभरिका २० प्रतिशत विरामीको उपचार गर्ने गरेको हस्पिटलको तथ्यांकले देखाएको छ । नेपालमा वर्षेनि ३० हजारदेखि ३५ हजारसम्म क्यान्सरका नयाँ रोगी थपिने गरेका छन् । त्यसमध्ये पूर्वाञ्चल क्यान्सर हस्पिटलमा २० प्रतिशत विरामी आउने गरेको अस्पतालका मेडिकल डाइरेक्टर वीरेन्द्रकुमार यादवले आज आयोजित पत्रकार सम्मेलनमा बताए । उनले स्थापना भएयता पूर्वाञ्चल क्यान्सर हस्पिटलमा २८ हजार ५६० जना विरामीको उपचार गरिएको जानकारी दिए ।

उनका अनुसार अस्पतालमा ५ हजार ५४३ जना नयाँ विरामी आएका छन् भने २ हजार ४७६ जना विरामी भर्ना भएका छन् । ‘स्तरीय उपकरण र दक्ष चिकित्सकका कारण आकर्षण बढ्दो छ’ उनले भने, ‘काठमाडौंदेखि लिएर कैलाली, कंचनपुरसम्मका विरामी आउने गरेका छन् ।’ हेड कन्सल्टेन्ट तथा क्लिनिकल अन्कोलोजी रहेका डा. यादवले पूर्वाञ्चल क्यान्सर हस्पिटलमा आफ्नो नेतृत्वमा चिकित्सकको एउटा कम्प्रिहेन्सिभ टीम रहेको बताए । त्यस टीममा ९ जना दक्ष चिकित्सकहरु रहेका छन् । त्यस्तै चाहिएको बेला सहयोग माग्न सक्नेगरी ब्याकअपमा बिएण्डसी टिचिङ हस्पिटलको चिकित्सकको टीम रहेको उनले जानकारी दिए । आफूहरुको हस्पिटलमा देशभरिकै राम्रो रेडियोलोजी रहेको भन्दै उनले फिजिकल टेष्ट , बायोप्सी , एक्सरे , सीटी र एमआरआईजस्ता स्तरीय उपकरणहरु रहेको बताए । सरकारले अनुमति नदिँदा पेट स्क्यान मेशिन ल्याएर पनि संचालन गर्न नसकिएको उनको भनाइ छ ।

हालसम्म ५६ वटा रेडियो सर्जरी गरिएको बताउँदै डा. यादवले राम्रो उपकरण र दक्ष चिकित्सक भएकै कारण काठमाडौंबाट विरामीहरु आउने गरेकोसमेत जानकारी दिए । उनका अनुसार केमोथेरापी ४ हजार ३०५ , पाठेघरको शल्यक्रिया ७६ , स्टेरिओटाक्टिक रेडियोथेरापी २३ वटा गरिएका छन् । सन् २०२० को जनवरी १ तारिख भ्रमण वर्ष शुरु भएको दिन पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो हस्पिटलमा जस्तो राम्रो उपकरण कही पनि नभएको बताए । उनले अहिले चिकित्सकको टीम पनि बनिसकेकाले अब पूर्वका विरामीहरुले भरतपुरमा गएर भौतारिनु नपर्ने धारणा राखे । ‘ म आफै राम्रो भन्दिनँ आफूले गरेको कामलाई अरुले राम्रो भन्दिनु पर्यो’उनले भने ,‘ अरुले मेरो जति नै नकारात्मक कुरा गर्छन् त्यति नै मलाई ऊर्जा मिल्छ ।’

कार्यक्रममा चिकित्सकहरु मुक्ति देवकोटा , बजरंग साहले पूर्वाञ्चल क्यान्सर हस्पिटलमा भएका प्रविधि र ठुला शल्यक्रियाका बारेमा जानकारी दिएका थिए । शल्यक्रियापछि निको भएका संगीता भुजेल , आइतमाया राई , फिपध्वज काम्बाङले पूर्वाञ्चल क्यान्सर हस्पिटलमा आफूहरुले राम्रो उपचार पाएको बताएका थिए । कार्यक्रमको संचालन हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्