बिर्तामोड , भदौ ७ । राजवंशी समुदायका तीनवटा जातीय संस्थाले सतानुबारी टोल र सतानु चौक नामाकरण गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।

राजवंशी विकास प्रतिष्ठान झापाको अगुवाइमा गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठान र राजवंशी समाज विकास समिति बिर्तामोडले बिर्तामोडको ३ नं वडाका अध्यक्ष भोजराज सिटौलालाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । तीनपल्ट प्रधानपञ्च भएका सतानु राजवंशी राजनीतिक , आर्थिक , सामाजिक हरेक क्षेत्रले निपुण रहेको स्मरण गराउँदै उनको ख्याति र योगदानकै आधारमा त्यस ठाउँलाई सतानुबारी भन्ने गरिएकोमा निकै वर्षपछि सतानुबारीलाई सैनिकमोड बिगारेर अहिले सतानु राजवंशीको घर भएको ठाउँलाई दरबार टोल भन्न थालिएकोमा ती संस्थाहरुले दुख व्यक्त गरेका छन् । ज्ञापनपत्रमा भनिएको छ ‘आफूहरुको अस्तित्व र पहिचानलाई मेट्ने दुष्प्रयास भएकोमा हामी अत्यन्त दुखी भएका छौं । अपहेलित भएको महसुस गरेका छौं ।’

नेपाल विविध धर्म, सम्प्रदाय, जातजाति र भाषाभाषीले बसोबासित सुन्दर देश भएकाले सहअस्तित्व र अनेकतामा एकताको मर्मलाई बिर्सनु नहुने जनाउँदै पुरानो इतिहास र यथार्थलाई खोजी गरी सतानु राजवंशीले दिएको योगदानलाई कदर गरेर सैनिकमोड र दरबार टोल विकास संस्थाको नाम परिवर्तन गरी सतानुबारी टोल विकास संस्था राख्न माग गरिएको छ । साथै सैनिकमोड चौकको नाम परिवर्तन गरी सतानु चौक राख्नसमेत उनीहरुले माग गरेका छन् ।
झापा जिल्लासँगै बिर्तामोडका सबैभन्दा पुराना बासिन्दा आदिवासी राजवंशीहरु भएको कुरा इतिहासमा छर्लङ्ग रहेको ज्ञापनपत्रमा स्पष्ट पारिएको छ ।

राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानका सहसचिव हरिनारायण चौधरी र राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष जितलाल राजवंशीले सो ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै वडाध्यक्ष सिटौलाले छलफलको माध्यमबाट ऐतिहासिक ठाउँको नामाकरण गराउने कुरामा सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । राजवंशी विकास प्रतिष्ठानकी उपाध्यक्ष रुपा राजवंशीले सो ज्ञापनपत्र वाचन गरेकी थिइन् । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका सदस्यहरु झलकसिंह राजवंशी , शर्मिला राजवंशी , गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानका रंजित राजवंशी , राजु राजवंशी , स्थानीय युवा ब्यक्तित्व मदन बुढाथोकी , कैलाश प्रसाई , अदीप राईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्