सुरेश आले ‘सर्जु’
बिर्तामोड , भदौ ८ । एक स्थानीय युवाले बिर्तामोड ३ स्थित ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल विराटपोखरीमा फूल फुलाउने चाहनाले फूलका बिरुवा रोपेका छन् ।

यसरी फूलका बिरुवा रोप्ने स्थानीय युवा सन्तोष उप्रेती हुन् । उनले निजी पहलमा पोखरीमा सुन्दरता थप्न गत साउन महिनादेखि फूल रोप्न शुरु गरेका हुन् । शुरुमा हाईब्रिड जातको ४ हजार सयपत्री फूल जोहो गरेर रोपे । बिरुवा थप्दै जाँदा अहिले ५ हजार बिरुवा रोपिसकेको उनले बताए ।
बिर्तामोड नगरपालिका वडा नं.३ स्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल विराटपोखरीको पूर्वपट्टी दुबैतर्फ, दक्षिणपट्टी भित्रीतर्फ फूलका बिरुवा रोपिएका. हुन् । यतिखेर उनको काम फूलका बिरुवा हुर्काउनु रहेको छ । अहिले उनी यही काममा ब्यस्त भएर लागिपरेका छन् । पर्याप्त बिरुवा पाईएको भए पोखरीको पूर्वी डिलभित्र र बाहिरसहित दक्षिणी डिलभित्र र बाहिर फूल रोप्ने उनको चाहना थियो । तर, भनेजस्तो फूलको बिरुवा पाइन छाडेपछि अहिले उनले पूर्व डिलभित्र र बाहिर पुरै र दक्षिणी डिलको भित्रपट्टी पश्चिममा रहेको शिब मन्दिर छेउसम्म पुर्याएर यो कार्यलाई रोक्ने बताएका छन् । पहिलो चरणको कार्य सफल भए उनले भबिष्यमा निरन्तरता दिने बताएका छन् ।
उनले यो काममा ६०–७० हजार रुपैयाँ खर्च भैसकेको बताए । ‘खर्च अझै बढ्दै जादैछ’उनले भने । शुरुमा विराट सरोबर बहुउद्दश्यीय विकास समितिसंग सहकार्य गरी यो कार्य गर्ने सम्झौता भएता पनि केहि दिनपछि समितिले यो कार्य आफूहरु हाल गर्न नसक्ने बताएपछि उनी एक्लैले यस कामको जिम्मा लिएका थिए । नियमानुसार जग्गा उपभोग गरेवापतको समितिलाई रकम दिनुपर्ने निर्णय गरिएको विराट सरोबर बहुउद्देश्यीय विकास समितिका सचिव पुनम प्रसाईले बताए । उनले भने ‘तीन महिनाको लागि रु ५ सय लिएर परीक्षणको लागि उप्रेतीलाई फूल रोप्न दिइएको हो । मौसमी फूल भएकाले तीन महिनामा फुल्ने र त्यसपछि भने समितिले पुनः अर्को ब्यवस्था गर्ने निर्णय भएको उनले जानकारी दिए ।

त्यस्तै समितिका अध्यक्ष इन्द्र प्रसाईले हाललाई परीक्षणको लागि व्यक्तिगत, संस्थागत वा स्थानीय किर्तन मण्डलीहरु इच्छुक रहे यो कार्य प्रकृयागत ढंगमा हस्तान्तरण गर्न सकिने साधारणसभामा धारणा उठेको बताए । यसैअनुरुप उप्रेतीको चाहनाअनुरुप उनलाई फूल विराटपोखरीमा रोप्न दिइएको बताए ।
उप्रेतीले भने नाफा नोक्सानको हिसाब नहेरिकन आफूले विराटपोखरीको सौन्दर्यता बढाउन र पर्यटक आकर्षित गर्न यो काम गरेको बताए । फूल फुलाएर विराटपोखरीलाई फूलैफूलले पूरै ढकमक्क पार्ने उनको चाहना रहेको छ । विराटपोखरीमा पहिलोपटक फूल रोप्ने योजना गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्