झापा , भदौ ९ । पूर्वमा सिसाको थोक बिक्री गर्दै आएको सनलाइट इन्भेष्टमेन्ट प्रालिले अर्धवार्षिक प्रगति समीक्षा गर्दै पाँचवर्षे रणनीतिक योजना गोष्ठी सम्पन्न गरेको छ।

कम्पनीद्वारा इलामको रोङ गाउँपालिकास्थित ईको होम रिसोर्टमा आयोजित गोष्ठीमा कम्पनीका संचालक समिति, लेखा समिति, सल्लाहकार सदस्य र शेयरधनीहरु सहभागी थिए। गोष्ठीको उद्घाटन गर्दै कम्पनीका अध्यक्ष पदमलाल भट्टराईले व्यवसाय शुरु भएको ६ महिनाको कारोबारबाट सकारात्मक संकेत पाएको बताए। उनले कम्पनीलाई अल्पकालीन र दीर्घकालीन योजनाका साथ अघि बढाउनु पर्ने बताउँदै यसका लागि सबै समिति र शेयरधनीहरुको साथ सहयोगको आवश्यकता रहेको आंैल्याए ।एक वर्षभित्रमा प्रदेश नम्बर १ का अधिकांश क्षेत्रमा सिसा बिक्री गर्ने र नयाँ ब्रान्डका सिसा खोजी गरी बजार विस्तार गर्ने योजना रहेको भट्टराईले सुनाए। उनले पाँचवर्षे रणनीतिक योजना प्रस्तुत गर्दै ५ वर्षमा पुग्दा देशका विभिन्न शहरहरुमा कम्पनीको शाखा विस्तार गर्ने , विट तथा आल्मुनियमको कारोबारसमेत थप्ने बताए।

कम्पनीले हाल भारत , बङ्गलादेश, चीन र दुबईबाट सिसा आयात गर्दै आएको छ । निकट भविष्यमै अन्य देशबाट समेत आयात गर्ने योजना रहेको संचालक सदस्य धर्मेन्द्र भट्टराईले बताए। गोष्ठीमा मोहन शिवाकोटी, तारा बराल, बुद्धिराम भट्टराई, रिंगकुमार आचार्य, तुलसीनाथ पौडेल ,आनन्दराज खनाल, उपेन्द्रप्रसाद ओली, युवराज निरौलालगायतले आ–आफ्नो धारणा राख्दै कम्पनीको प्रगतिप्रति सन्तुष्टि जनाएका थिए।
झापाको चारआली–चन्द्रगढी रोडमा अवस्थित सनलाइट इन्भेष्टमेन्ट प्रालिले २०७३ सालमा स्थापना भई आफ्नै जग्गामा भवन तथा गोदाम घर निर्माण गरी गत माघ महिनादेखि विभिन्न ब्रान्डका सिसाको कारोबार गर्दै आएको छ । कम्पनीमा स्थानीय १२ जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । कम्पनीका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको गोष्ठीमा संचालक सदस्य धर्मेन्द्र भट्टराईले सहजीकरण गरेका थिए भने अर्का सदस्य उपेन्द्रप्रसाद ओलीले स्वागत र सचिव भरत भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए ।