बिर्तामोड ९ भदौं । नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि अध्यक्षको उम्मेद्वारका चर्चामा रहेका राम कट्टेल र देउमान थेवेले कृष्ण सिटौलाकै टिमबाट अध्यक्षको उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियन झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन र झापाको संगठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासीद्वय कट्टेल र थेवेले यस्तो आकांक्षा व्यक्त गरेका हुन् ।झापाको प्रजातान्त्रिक आन्दोलनमा थुप्रै अग्रज व्यक्तित्वहरुको योगदान रहेको चर्चा गर्दै उनीहरुले समाजवादीका ब्याख्याता सिके प्रसाईको नेतृत्वमा कांग्रेसको वैचारिक जग र कृष्ण सिटौलाको नेतृत्वमा सांगठानिक जग बसेको र सोही जगमा झापा कांग्रेसको राजनीति अघि बढेको धारणा राखेका थिए ।
झापाको राजनीतिमा कट्टेल र थेवे लगभग चार दशक अघिदेखि सक्रिय छन् । उनीहरुले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

सिके प्रसाई र कृष्ण सिटौलाको राजनीतिक योगदान राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा समेत फैलिएको चर्चा गर्दै कार्यक्रमका अधिकांश वक्ताहरुले झापाको संगठन, विचार र राजनीतिक अभियानले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।
कांग्रेसभित्र रहेको गुट उपगुटको अन्त्य गरेर एक ढिक्का हुनसके आम निर्वाचनमा कांग्रेसको पक्षमा परिणाम आउने धारणा राख्दै वक्ताहरुले अधिवेशनमा देखिएको गुट–उपगुटको अन्त्य निर्वाचनपछि स्वतः समाप्त पारेर ‘चेन अफ कमाण्ड’मा पार्टी चल्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कांग्रेस झापाका उपसभापति देवी राजवंशी, सचिवद्वय प्रेम सम्बाहाम्फे र ताराबीर कट्वाल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, कांग्रेस झापाका पूर्वसचिवत्रय भगिरथ पोद्धार र भक्ति सिटौला, दयानन्द गोस्वामी, नेपाल महिला संघ झापा सभापति सुशिला ढकाल, १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती, कमल गाउँपालिकाका सभापति खगेन भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्यता तथा नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले २००७ सालदेखि हालसम्मको झापाको प्रजातान्त्रिक आन्दोलन समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँईले विषय प्रवेश गराएको कार्यक्रममा स्वागत झापा उपाध्यक्ष गिरीराज भट्टराईले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईंले गरेका थिए ।
५ ‘ब ’को नीतिमा कांग्रेस
नेपाली कांग्रेस झापाका सभापति थापाले नेपाली कांग्रेस झापा ५ ‘ब’ को नीति लिएर अघि बढेको बताएका छन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि रहेका थापाले आफ्नो १० वर्षे (दुई) कार्यकालको संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादी विचार, सामाजिक व्यवहार, व्यवसाय, जनचाहना अनुसारको विकासमा सक्रियता र विपतमा कांग्रेसको नीतिमा अघि बढेको बताए ।आफ्नो नेतृत्वमा १० वर्ष झापा कांग्रेसका गतिविधि सक्रियतापूर्वक अघि बढेको चर्चा गर्दै सभापति थापाले यस अवधिमा प्रजातान्त्रिक आन्दोलनमा जीवन गुमाएका शहिदहरुको सम्झनामा प्रतिष्ठान तथा शालिक निर्माण गरेर प्रतिष्ठानमार्फत सर्वसाधारण जनतामा प्रजातान्त्रिक चेत भर्ने काम भइरहेको बताए ।
विश्वनाथ घिमिरे, तुर्सा हेमरम, याम आचार्य, बुटन चौधरी, श्यामसुन्दर यादव, चन्द्रमणी भट्टराई, राजन गिरीलगायतको स्मृतिमा प्रतिष्ठान स्थापना गरी शालिक निर्माण गर्ने कार्य सम्पन्न भएको र केही प्रजातान्त्रिक योद्धाहरुको प्रतिष्ठान तथा शालिक निर्माण कार्य अघि बढाइएको जानकारी दिए ।

आफ्नो कार्यकालमा पार्टीलाई आर्थिक रुपले सवल बनाएर चन्दा मागेर पार्टी चलाउने परिपार्टीको अन्त्यका लागि क्रियाशील सदस्य नवीकरणमा न्यून लेवी तय गरेर वडादेखि जिल्लासम्मको आर्थिक अवस्था सुदृढ गरिएको जानकारी दिंदै यसलाई केन्द्रीय समितिले समेत अनुकरण गरेको सभापति थापाले बताए ।
लगभग ५ दशकदेखि झापाको राजनीतिमा सक्रिय थापाले पार्टीका गतिविधिहरुलाई संस्थागत रुपमा अघि बढाउन क्षेत्रीय, गाउँ÷नगर र वडा पार्टी कार्यालय निर्माण भएको र केही निर्माणको प्रक्रियामा रहेको जानकारी दिए ।
झापा कांग्रेसमा १६ हजारबढी क्रियाशील सदस्य नविकरण र १७ हजारबढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको जानकारी दिए ।

विगतको इतिहासलाई जोगाएर पार्टी संगठनलाई बलियो बनाउँदै आम निर्वाचनपछि मात्रै पार्टीको आन्तरिक महाधिवेशन गर्दा संगठनको हित हुने धारणा राखेका थिए । सहमति सहकार्य र एकताको नमूना झापाबाट प्रस्तुत गर्नुपर्नेमा जोड दिंदै उनले विगतदेखि वर्तमानसम्मको नेतृत्वले कांग्रेसको संगठन बलियो बनाउन गरेको निष्ठा, त्याग र समर्पण सम्मानयोग्य रहेको धारणा राखे ।
अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरणका लागि समयमै महाधिवेशन अत्यावश्यक रहेपनि समय र परिस्थितिको मूल्याङ्कन गर्दै संघ, प्रदेश र स्थानीय निर्वाचनपछि महाधिवेशन गर्नु कांग्रेसको हितमा हुने धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्