विराटनगर, भदौ १० । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिने तयारी गरेका छन् ।

एमाले संसदीय दलको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले संसदीय दलको नेताबाट राजीनामा दिएर भीम आचार्यलाई दलको नेता चयन गर्ने तयारी गरिएको एक सांसदले बताएका छन् ।
मुख्यमन्त्री राईले दलको नेताबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा दिने श्रोतको दाबी छ । आज साँझसम्म नेता आचार्य मुख्यमन्त्री बन्ने बताइएको छ ।
माधव नेपाल समूहमा रहेका आचार्य संसदीय दलको निर्वाचनमा शेरधन राईसँग २ मत अन्तरले पराजित भएका थिए । नेपाल समूहबाट गुट परिवर्तन गर्दै उनी ओली समूहमा गएपछि एमाले अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।

नेता आचार्य एक महिने मुख्यमन्त्री बन्न लागेको नेकपा एकीकृत समाजवादीका एक सांसदले बताए। आचार्यले कुनै पनि हालतमा विश्वासको मत नपाउने उनको दाबी छ ।

प्रदेश १ मा एमालेका ५१ जना सांसद छन्। समाजवादीले आफ्नो पक्षमा १२ जना रहेको बताएको छ। प्रदेश सभामा काँग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना सांसद छन्। समाजवादीमा ८ जना मात्रै सांसद गए भने पनि एमाले सरकार ढल्ने निश्चित छ । यसैबीच आफ्नो पक्षमा बहुमत जुटाउन एमाले सचिव आचार्यले धमाधम मन्त्री पद बाँडिरहेको खुलेको छ । एमाले विभाजित बनेर बनेको एकीकृत समाजवादीमा जाने सम्भावना भएका सांसदलाई मन्त्री बनाउने आश्वासन दिँदै एमालेमै रोक्ने प्रयास गर्ने क्रममा सबैलाई पदको लोभ देखाइएको हो । उदयपुरकी एमाले सांसद सुनिता चौधरीका अनुसार नेपाल समूहका अधिकांशलाई केही दिनयता निरन्तर मन्त्री अथवा संसदीय समितिको सभापति पदको अफर आइरहेको छ । मन्त्री पदको आश्वासन आएपनि आफू राजनीतिक प्रतिबद्धताभन्दा बाहिर नजाने उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्