मेचीनगर , भदौ १० । मेचीनगरका क्रियाशील राजनैतिक दलहरुले नगरभित्र कोभिड १९ विरुद्घको खोपलाई व्यवस्थित र मर्यादित बनाउन आ—आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

डीसीसीएमसी झापाको भदौ ८ गतेको निर्णय अनुसार कोभिड १९ विरुद्घको भेरोसिलको दोस्रो खोप कार्यक्रम शुक्रबारबाट शुरु हुँदैछ । भदौ ११ देखि १३ गतेसम्म हुने खोप अभियानलाई मध्यनजर गरेर नगरपालिकाले आयोजना गरेको छलफलमा दलका तर्फबाट प्रतिनिधिहरुले यस्तो प्रतिवद्घता जनाएका हुन् । छलफलमा सहभागी सबैजना भेरोसिलको अर्को खोप खोपकार्डको आधारमा लगाइनु पर्नेमा सहमत भएका छन् । छलफलमा सहभागी राजनैतिक दलका प्रतिनिधिहरुले खोपकेन्द्रमा हुने अनावश्यक भीडभाडलाई व्यवस्थित गर्न, लक्षित समुदायलाई मात्र खोप उपलब्ध गराउन, स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्ने कुरामा दलका तर्फबाट पूर्णरुपमा साथ सहयोग हुने बताएका थिए । नगप्रमुख विमल आचार्यले छलफलको अध्यक्षता गदैं अहिलेसम्म कोभिड संक्रमण तथा रोकथाम र खोप लगाउने कार्यमा मेचीनगर देशकै उत्कृष्ट बनेको चर्चा गदैं यसलाई बचाई राख्न नगरका क्रियाशील राजनैतिक दलका प्रतिनिधि, नगरभरिका वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधिहरुसँग आग्रह गरेका थिए । नगरप्रमुख आचार्यले खोप अभियान सञ्चालन गर्दा हुनसक्ने अवान्छित गतिविधि व्यवस्थापनमा आवश्यक सहयोगको अपेक्षा समेत राखे ।

उनले खोपकेन्द्रलाई व्यवस्थित गर्ने, अनावश्यक भीडभाड हुन नदिने, खोप कार्डको दुरुपयोग हुन नदिनेलगायत सबै कुरामा सवैको साथ, सहयोग र समन्वयको आवश्यकता औंल्याए । खोपको पहिलो मात्रा लगाउनेले मात्र दोस्रो मात्रा लगाउन पाउने भएकाले त्यसतर्फ सबै सचेत हुन आग्रह गदैं प्रत्येक नगरवासी खोप लगाउनबाट बञ्चित नहुन् भनेर प्रचारप्रसारलाई व्यापक बनाउन समेत उनले सबैलाई आग्रह गरे ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले कोभिड १९ विरुद्घको भेरोसिलको पहिलो मात्रा जहाँबाट लगाईएको हो, त्यहीबाट लगाउने व्यवस्था मिलाइएको बताइन् । उनले साविककै खोपकेन्द्रबाट यो सेवा प्रवाह गर्ने जानकारी दिइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा र स्वास्थ्य शाखा संयोजक रामनारायण यादवले खोपका बारेमा जानकारी दिएका थिए ।
राजनैतिक दलका प्रतिनिधिहरुले आफ्नो तर्फबाट स्वयम्सेवकको भूमिका निर्वाह गर्न तयार रहेको भन्दैं स्वयम्सेवकका नाममा अनावश्यक गतिविधि हुन नदिन नगरपालिकालाई सुझाव दिएका थिए । नेपाली काँग्रेस मेचीनगर सचिव हस्तबहादुर आङदेम्बे, नेकपा एमाले मेचीनगर इञ्चार्ज देवकुमार राई नगर अध्यक्ष राजु पोखरेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष पुष्प गुरागाईँ, संघीय समाजवादी पार्टी नेपालका नगर अध्यक्ष ओमप्रकाश खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष सविना बजगाईँले विगतमा खोपकार्ड वितरणमा समस्या भएकाले त्यसलाई सुधार गरेर जान सम्बन्धित जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए । छलफलमा पहिलो मात्रा खोप लगाएको कार्डको आधारमा ५५ वर्षमाथि उमेर समूहका आमनागरिकलाई खोप उपलब्ध गराउने सहमति भएको छ ।

भदौ ११ देखि १३ गतेसम्म भद्रपुर, मेचीनगर, बिर्तामोड, अर्जुनधारा र दमक नगरपालिका तथा बुद्घशान्ति, कचनकवल, हल्दीवारी, बाह्रदशी गाउँपालिका गरी नौवटा पालिकामा भेरोसिलको दोस्रो खोप अभियान सञ्चालन गर्ने निर्णय भएको छ । यसैगरी, भदौ १७ देखि १९ गतेसम्म कन्काई , शिवसताक्षी र गौरादह नगरपालिका तथा कमल, झापा, गौरीगञ्ज गाउँपालिका गरी ६ वटामा अभियान सञ्चालन हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्