झापा , भदौ ११ । विभाजनपछि नेकपा एमालेले कमजोर आँकेको नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष केपी ओलीको गृहजिल्लामा संगठन विस्तारलाई तीब्रता दिएको छ ।

त्यसक्रममा केही दिनअघि संगठन विस्तार गरेको नेकपा (एकीकृत समाजवादी)ले ओलीको गृहनगर दमकमै कार्यालय खोल्ने तयारी गरेको छ । उसले शनिबार दमकमा नगर कार्यालय खोल्ने तयारी गरेको हो । ‘ पार्टीको दमक नगर कमिटी बनिसकेको छ ’ जिल्ला अध्यक्ष वेदराज रेग्मीले भने , ‘हामी भोलि दमकमा नगर कार्यालय खोल्दैछौं ।’ उनले जिल्लाका १५ वटै पालिकामा कमिटी गठन गर्ने क्रम शुरु भएको बताए । ‘ अरुले आँकेको जस्तो हामी झापामा कमजोर छैनौं’ उनले भने,‘ सबै पालिकाहरुमा कमिटी निर्माण हुन्छ ।’ कोरोना महामारीका कारण केही दिनका लागि संगठन विस्तारमा ढिलाई भएको उनले जानकारी दिए ।
ओलीको गृहजिल्ला भएकाले स्वाभाविक रुपमा झापामा नेकपा (एकीकृत समाजवादी)को पकड त्यति धेरै छैन । एमाले नै बलियो देखिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा विगतमा खुलेर लागेका केही नेताहरू पार्टी विभाजनसँगै ओली पक्षमा देखिएका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको ससुराली झापाको बिर्तामोड ९ हो । नेपालको ससुराली जिल्लामा उनको पार्टी केन्द्रीय सदस्यविहीन बनेको छ । एमालेको नवौँ महाधिवेशनमा दुई वैकल्पिक केन्द्रीय सदस्यसहित चार केन्द्रीय सदस्य निर्वाचित भएको जिल्लामा नेपालको समाजवादी केन्द्रीय सदस्यविहीन छ । दर्ताका लागि निवेदन पेस गर्दा झापाबाट केन्द्रीय सदस्यमा रविन कोइराला, नरेश खरेल र भाष्कर काफ्लेको नाम समावेश भएको थियो । काफ्ले २ जेठ २०७५ अघि एमालेको वैकल्पिक केन्द्रीय सदस्य थिए । तत्कालीन एमालेमा कोइराला पनि वैकल्पिक केन्द्रीय सदस्य हुन् भने खरेलले नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य हारेका थिए । तत्कालीन एमाले र माओवादीको एकताका बेलामा एमालेले थपेको ४६ जना केन्द्रीय सदस्यमध्येका खरेल मनोनित भएका थिए । यी तीनै नेतालाई मञ्चमा राख्दै नेपालले गत बैशाखमा तत्कालीन एमालेको समानान्तर समिति बनाएका थिए । तर, नेपालले पार्टी दर्ता गरेपछि कोही ओलीतिर लागे भने कोही तटस्थ छन् । खरेल अहिले निश्क्रिय छन् भने काफ्ले सम्पर्कमा छैनन् । उपचारका लागि भारत गएको बताउने काफ्ले नेकपा (एकीकृत समाजवादी)को सम्पर्कमा नरहेको पार्टी स्रोतले जनाएको छ । कोइराला भने एमालेमै फर्किएका छन् । विगतमा ओलीको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै आएका उनले नेपालले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् ।
नयाँ पार्टीमा समावेश भएका तीन केन्द्रीय सदस्यले इच्छा नदेखाएपछि नेपालको नयाँ पार्टी झापामा केन्द्रीय सदस्यविहीन भएको हो । विगतमा बनेको एमालेको समानान्तर कमिटीलाई नै नयाँ पार्टीको कमिटीको रूपमा रूपान्तरण गर्ने सहमति भएको जिल्ला अध्यक्ष रेग्मीले बताए । तीन सय ५१ सदस्यीय रहेको यो कमिटीमा २१ जना तत्कालीन एमालेका जिल्ला सदस्य रहेको उनले बताए । ‘हामी जिल्लामा संगठन निर्माणलाई प्राथमिकता दिएर काम गर्छौँ,’ उनले भने, ‘यहाँबाट केन्द्रीय सदस्य हुन योग्य मान्छे उत्पादन पनि गर्छौँ ।’
नवगठित पार्टी जनप्रतिनिधिका हिसाबले पनि कमजोर देखिएको छ । एमालेबाट फुटेको यो पार्टीमा निर्वाचित जनप्रतिनिधि पनि कम छन् । तत्कालीन एमालेले प्रतिनिधिसभामा झापाको पाँचवटा निर्वाचन क्षेत्रमध्ये तीनवटामा जीत निकालेको थियो । विगतमा झापा–२ बाट प्रतिनिधिसभामा निर्वाचित पवित्रा निरौला खरेल माधव समूहमा थिइन् । तर, पार्टी विभाजनसँगै उनले माधव समूह त्याग गरिन् । योसँगै झापामा निर्वाचित तीन प्रतिनिधिसभा सदस्यहरू नै एमालेमा छन् । यस्तै, १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये आठवटा एमालेले जितेको थियो । आठजना नै प्रदेशसभा सदस्य एमालेमै रहेका छन् । तर, जिल्ला समन्वय समिति उपप्रमुख मीना पराजुली भने नेपालको पार्टीमा खुलेकी छन् । जिल्लाका १५ स्थानीय तहमध्ये एमालेले सातवटामा प्रमुख÷अध्यक्ष र ११ वटामा उपप्रमुख÷उपाध्यक्ष जितेको छ । त्योमध्ये एकजना नगरप्रमुख मात्र नेपालको पार्टीमा खुलेका छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना नेपालको पार्टीमा खुलेका हुन् । यस्तै, ११ उपप्रमुखमध्ये तीनजना नेपाल समूहमा देखिएका छन् । बिर्तामोड उपप्रमुख पवित्रा महतरा प्रसाईं, भद्रपुर उपप्रमुख चन्द्रमाया श्रेष्ठ र शिवसताक्षीकी उपप्रमुख भोजकुमारी नेपाल माधव नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा देखिएका हुन् । प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष मुनिका जनप्रतिनिधिहरुमा आफूहरुको राम्रो उपस्थिति राम्रो रहेको रेग्मीले बताए । उनले तल्लो तहका एकतिहाई जनप्रतिनिधिहरु आफ्नो पक्षमा रहेको दावी गरे । ‘अरुको गर्जन सुनेर हामी भाग्ने बाला छैनौं ’उनले भने , ‘निर्वाचनमा पनि हिम्मत गरेर भाग लिन्छौं ।’ ओली प्रवृतिका कारण एमालेभित्र धेरै कार्यकर्ताहरु रुष्ट भएको र ती कार्यकर्ताहरु आफूहरुतिर आउने उनले दावी गरेका छन् ।