दमक, भदौ १२ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले दल विभाजन गर्ने अध्यादेश स्थिर सरकारको लागि ल्याउनु परेको बताएका छन् ।

नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा शनिबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले अघिल्लो केपी ओली सरकारले ल्याएको अध्यादेश र अहिलको अध्यादेशमा आकाश जमिनको फरक रहेको बताए । अघिल्लो सरकारले अस्थिरताको लागि अध्यादेश ल्याएको बताउँदै उनले अहिले देउवा नेतृत्वको सरकारले मुलुकको स्थिरताको लागि अध्यादेश ल्याउनु परेको दावी गरे ।
कांग्रेसलाई जनताले पाँच बर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको आफूले बारम्बार बताउँदै आएको भएपनि देश चलाउनु पर्नेले नचलाएपछि मुलुक सम्हाल्नको लागि कांग्रेस सरकारमा आउनु परेको पनि उनले दावी गरे । एमाले अध्यक्ष ओलीले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनु परेको भन्दै उनले नेपाली कांग्रेस निवेदन दिएर सरकारमा नआएको प्रष्ट पारे ।
नेपाली कांग्रेसको महाधिवेशनको सन्दर्भमा कुरा गर्दै अहिलेको महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनु पर्ने बताए । केन्द्रमा रहेका युवा नेतृत्वहरुबीच जुन समूहबाट आएपनि पार्टीले शुद्धिकरण साझा संकल्प राखेको बताए । नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु पार्टीको जरा भएको भन्दै जरा बलियो भएमा मात्रै रुख दरो हुने भएकोले क्रियाशील सदस्यहरु पार्टी निर्माणमा जुट्नु पर्ने धारणा राखे ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस वैकल्पिक केन्द्रिय सदस्य दिलिपराई लगायतले बोलेका थिए ।



