भद्रपुर, भदौ १४ । नेपाली काँग्रेस कचनकवल २ का तीनजना क्रियाशील सदस्यहरूले राप्रपा नेता राजेन्द्र लिङ्देनले आफूहरूलाई राप्रपामा प्रवेश गराएको हल्ला निराधार भएको प्रष्ट पारेका छन् ।

एक दशकयता निरन्तर नेपाली काँग्रेसमा रहेर सक्रिय रहेका गोपालसिंह राजवंशी, तिनतालु राजवंशी र डुमनसिंह राजवंशीले आफ्नो टोलको बाटो स्तरीकरणका लागि भन्दै भेला भएका स्थानीयहरूसित सामूहिक फोटो खिचेर राप्रपा प्रवेश गरेको हल्ला फिजाएको दावी गरेका छन् ।

नेपाली काँग्रेसका अग्रज कार्यकर्ता समेत रहेका गोपालसिंह राजवंशीका अनुसार भदौ १० गते कचनकवल २ स्थित डाँडागाउँ टोलमा आएका संघीय सांसद समेत रहेका राप्रपा नेता लिङ्देनले टोलबासीसित छलफल गर्ने क्रममा राप्रपामा प्रवेश गरे सडक मर्मत तथा कल्भर्ट निर्माण गरिदिने भन्दै केही व्यक्तिलाई अविर लगाएर सदस्यता बाँडेका थिए । यस्तै तिनतालु राजवंशी आफूहरू कचनकवलको विकास र समृद्धिका लागि काँग्रेसमा रहेर संघर्ष गरिरहेको भन्दै राप्रपाले विकासमा विभेद गर्दा कचनकवल २ का स्थानीय प्रताडित भएको बताउँछन् । उनका अनुसार कचनकवल २ मा काँग्रेस र एमालेको वर्चश्व रहेकै कारण गाउँपालिकाको बहुमतसहित नेतृत्वमा रहेको राप्रपाले सडक, पुल,पुलेसाजस्ता नागरिकसित गाँसिएका विकासका आधारभूत पूर्वाधारमा विभेद सिर्जना गरेर अन्याय गरिरहेको छ ।

त्यस्तै डुमनसिंह राजवंशीले नेता लिङ्देनले सांसद विकास कोषमार्फत आफ्नो वडामा एक रूपैयाँ पनि लगानी नगरेको भन्दै भ्रम छर्न सिदासाधा नागरिकलाई सडक, पुल, कल्भर्ट बनाइदिने आश्वासनमा पार्टी प्रवेशका लागि दवाव दिइरहेको आरोप लगाए ।
त्यसैगरी कचनकवल २ का वडा सदस्य धनबहादुर गुरूङ कचनकवल २ लाई विकसित हुन नदिन गाउँपालिका नेतृत्वले विभेद गरेको बताउँछन् । उनका अनुसार सो वडामा राप्रपाको प्रभाव न्यून रहेका कारण सांसद लिङ्देनमार्फत आउने बजेट तथा गाउँपालिकाको बजेट नेतृत्वले न्यून दिँदा सडक, कल्भर्ट, पैनीका समस्या हल हुन सकेको छैन ।
नेपाली काँग्रेसका महासमिति सदस्य भूमिप्रसाद राजवंशी, क्षेत्रीय सचिव गीताप्रसाद भट्टराई, क्षेत्रीय प्रतिनिधि हर्कबहादुर लिम्बूलगायतले राप्रपाले कचनकवलमा प्रतिशोध र विभेदको राजनीति गरेर विकृति फैलाइरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्