दमक, भदौ १५ । दमक ६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आसन्न १० आंै साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थाले मंगलबार आफ्नै सभाहलमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन पुस्तिका संस्थाका अध्यक्ष पदम लिङ्देन ( संकल्प ) , उपाध्यक्ष महेन्द्र चाम्लिङ,सचिव दिलिप जवेगु, कोषाध्यक्ष फूलकुमारी आङदेम्बेलगायतले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् । कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाउँदै यस वर्ष पनि सहकारीले असोज ७ गते साधारणसभा सम्पन्न गर्ने तय भएको उनले जनाएका छन् ।
अध्यक्ष लिङदेनका अनुसार यस वर्ष संस्थाको चुनावी साधारणसभा समेत भएकाले त्यसैअनुसार कार्यक्रम तय गरिएको छ । जसअन्तर्गत असोज ५ मा सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका लागि उम्मेद्वारी दर्ता,६ गते उम्मेद्वारीमाथि दावी विरोध र फिर्ता र ७ गते साधारणसभा सम्पन्न गरिने जनाईएको छ ।
दमकमा मुख्य कार्यालय रहेको सहकारीले जिल्लाको शिवसताक्षी ,बिर्तामोडमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । यस वर्ष झापा ,मोरङ र इलामका १० स्थानमा थप सेवाकेन्द्र विस्तार गर्ने कार्यक्रम रहेको अध्यक्ष लिङ्देनले बताएका छन् । संस्थाले मुख्य कार्यालयसहित सेवाकेन्द्रवाट शेयर सदस्यहरुलाई प्रतिवेदन वितरण गरिने जनाईएको छ ।
थपिने सेवाकेन्द्रहरुमा मोरङको उर्लावारी,मिक्लाजुङ,इलामको माङ्सेवुङ,चुलाचुली,झापाको मेचीनगर,भद्रपुरलगायत रहेका छन् । शेयर सदस्यहरुका सुविधाका लागि संस्थाले आफ्नो नीति तथा कार्यक्रम अनुसार थप सेवाकेन्द्र विस्तार गर्न लागिएको उनले बताए ।
अध्यक्ष लिङ्देनले संस्थाको आगामी चार वर्षभित्र प्रदेशकै एक उत्कृष्ट सहकारीका रुपमा विस्तार गरी आफ्नै भवन, शेयर सदस्यको सुविधाका लागि मोवाइल बैकिङलगायतका सेवा विस्तार गरिने लक्ष्य रहेको सुनाए ।
प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा संस्थाका अध्यक्ष लिङ्देनले संस्थाको गतिविधि र व्यवस्थापक कुवेर तुम्बापोले संस्थाको वित्तीय विवरण संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए । सो कार्यक्रममा संस्थाका सञ्चालक, उपसमितिका पदाधिकारी तथा सदस्यहरुकोे उपस्थिति रहेको थियो ।
महामारीका बीच कारोवारमा बृद्धि
१६४८ जना शेयर सदस्य रहेको सहकारीले कोरोना महामारीका बावजुद कारोवार वृद्धि गर्न सफल भएको छ । संस्थाका व्यवस्थापक तुम्बापोका अनुसार संस्थाले महामारीका बीच पनि सेवा विस्तारसंगै आर्थिक प्रगति लक्ष्यअनुरुप बृद्धि गर्न सफल भएको हो । अघिल्लो वर्षको शेयर पूँजीलाई झण्डै दोव्वर बृद्धि गरेर ३ करोड ६५ लाख १२ हजार ३ सय रुपैयाँ पुर्याएको छ भने क्ूल कारोवार ७५ करोड २९ लाख ७६ हजार २७८ रुपैयाँ गर्न सफल भएको व्यवस्थापक तुम्बापोले जनाएका छन् । त्यस्तै, वासलात २६ करोड ११ लाख ५ हजार ६९ रुपैयाँ रहेको संस्थाले जनाएको छ । संस्थाले १८ करोड ३३ लाख २० हजार ९६४ रुपैयाँ कर्जा लगानी , १४ करोड १६ लाख ४७ हजार ४९४ रुपैयाँ बचत गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्