बिर्तामोड, भदौ १५ । बिर्तामोड नगरपालिकाको वडा नं ३ र ९ लाई जोड्ने धौला पुलमा पहिला पनि निकै दुर्घटना हुने गरेको थियो । बिर्तामोड— भद्रपुर सडक चारलेनको बनेपछि त धौला पुलमा दुर्घटना घट्नुको साटो अझ खतरा बढेको छ ।

किनकि चार लेनको सडक विस्तार गरेर बीचमा साघुँरो पुल चाहिँ त्यतिकै छोडिएको छ । पुलको पूर्व र पश्चिमतर्फ चार लेनको सडक छ । दुवै तर्फको फराकिलो सडकबाट आउने सवारी साधनहरु सडक बीचको त्यो साँघुरो पुलमा दुर्घटना हुने खतरा बढेको हो ।

बिर्तामोडको मुक्ति चोकदेखि चार किलोमिटर सडक चार लेनको निर्माण भएको छ । सडक डिभिजन कार्यालय दमकले बिर्तामोड–भद्रपुर सडकको चार किलोमिटर खण्ड कालोपत्रे गर्न आशिष प्रेरा जेभीलाई २७ करोड रुपैयाँमा ठेक्का दिएको थियो । जुन काम सम्पन्न भइसकेको छ । आशिष प्रेरा जेभीलाई बाटोको ठेक्का दिइएकाले उसले बाटो मात्र सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । बाटोको ठेक्कामा पुल नराखिने बताउँदै सडक डिभिजन कार्यालय दमकका इन्जिनियर अनुप साउदेनले बिर्तामोड भद्रपुर सडकमा पर्ने धौला र देउनिया पुल विस्तारका लागि बजेट माग गरिएको जानकारी दिए ।

बिर्तामोडदेखि गरामनी पश्चिमसम्म बाटो निर्माण भइसकेको छ । त्यस बाटोको पूर्व चन्द्रगढीसम्मको बाटोको पनि ठेक्का लागिसकेको छ । बाँकी बाटोको लागि सर्भे डिजाइन पूरा गरी पगली भट्टी क्षेत्रमा वाल लगाउने कार्य भइरहेको इन्जिनियर साउदेनले बताए । ‘ अर्को तर्फ पनि बाटोको ठेक्का लागिसकेको छ ’उनले भने,‘बीचमा रहेका धौला र देउनिया पुल विस्तारका लागि पनि बजेट माग गरेका छौं ।’
विगतमा पनि धौला पुलमा निकै दुर्घटना भएका थिए । काठे पुलदेखि पक्की पुल बन्दासम्म त्यहाँ दुर्घटना न्यूनीकरण हुन सकिरहेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्