बिर्तामोड, भदौ १५ । नेपाली कांग्रेस झापाले जिल्ला अधिवेशन यही भदौ १९ गते वडा अधिवेशनबाट प्रारम्भ गर्ने भएको छ ।

केन्द्रबाट खटिएर झापामा आएका निर्वाचन अधिकृत सुबोधबाबु चिलवालको प्रमुख आतिथ्य र जिल्ला सभापति उद्धव थापाको सभापतित्वमा मंगलबार बसेको विस्तारित बैठकले १८ गते देशब्यापी वडा अधिवेशन तोकिएपनि आन्तरिक ब्यवस्थापनका लागि समय अपुग भएपछि १९ गतेबाट प्रारम्भ गर्ने निर्णय गरेको हो ।
जिल्ला कार्यसमिति, संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउँ÷नगरका सभापतिहरुको सहभागितामा भएको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा निर्वाचन अधिकृत चिलवालले निर्वाचन निर्देशिकामा भएका ब्यवस्था, कार्यविधि, विधानको ब्याख्या गर्दै सहभागीहरुबाट उठेका जिज्ञासाको जवाफ दिएका थिए ।
सहमति, सहकार्य र एकता प्रदर्शन गर्दै झापाको निर्वाचन उदाहरणीय बनाउन आग्रह गरेका चिलवालले निर्वाचनका लागि भएको प्रतिष्पर्धालाई गुटगत राजनीतिमा परिणत नगरी संगठन बलियो बनाउन आग्रह समेत गरे ।

पार्टी सभापति थापाले निर्वाचन आचारसंहिता, मतदान अधिकृतको काम कर्तब्य, जिम्मेवारीका विषयमा प्रकाश पारेका थिए ।
नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाईले वडाबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति गठनका विषयमा कार्यविधिमा भएको समावेशी सहभागितासहितको मापदण्डबारे जानकारी दिएका थिए ।

यसैबीच नेपाली कांग्रेस झापाको विभिन्न तहको निर्वाचनमा डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रेस युनियन र नेपाल शिक्षक संघ आबद्ध पदाधिकारी÷सदस्यहरुलाई निर्वाचन÷मतदान अधिकृतको रुपमा केन्द्रीय निर्देशनअनुरुप खटाइने भएको छ । साझेदार संस्थाहरुबीच मंगलबार वडा अधिवेशनबारे छलफल भएको हो ।
निर्वाचन समितिले १३१ वडाकै मतदान अधिकृतलाई १८ गते नै सम्बन्धित वडामा पठाउने र निर्वाचन प्रक्रियामा कोभिड–१९ लाई ध्यानमा राखेर सुरक्षाका सम्पूर्ण उपायलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्