भद्रपुर ,भदौ १७ । कोराना संक्रमण कम भएर भारतसँगको अन्य व्यापारिक नाकामा आवतजावत सहज बनाइए पनि भद्रपुर नाकाबाट आवागमन सहज नबनाइएकोमा चिन्ता व्यक्त गर्दै झापा उद्योग वाणिज्य संघले सो नाका पनि अविलम्ब सहज बनाउन सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष नवराज पनेरुको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय झापा पुगेको उद्योगी–व्यवसायीहरुको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाउँदै भद्रपुर क्षेत्रका उद्योगी–व्यवसायी एवम् सर्वसाधारण नागरिकले पछिल्लो डेढ वर्षदेखि झेल्दै आएको समस्याप्रति गम्भीर भई भद्रपुर नाकाबाट आवतजावत सहज बनाइदिन माग गरेको हो । जिल्ला प्रशासन कार्यालयमा संक्षिप्त कार्यक्रमका बीच संघका अध्यक्ष पनेरुले प्रमुख जिल्ला अधिकारी श्रणकुमार तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रजिअ तिमिल्सिनाले ज्ञापनपत्र बुझ्दै तत्काल सम्बन्धित निकायहरुमा पठाइदिने प्रतिबद्धता व्यक्त गर्दै आफूबाट हुनसक्ने पहलकदमी गर्ने बताए ।
गृह मन्त्रालय, अर्थ मन्त्रालय, झापा ३ नं क्षेत्रका प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङदेन, १ नं प्रदेशसभा सदस्य वसन्त वानियाँ, पूर्णप्रसाद राजवंशी, ओमप्रकाश सरावगी तथा भद्रपुर नगरपालिकासमेतलाई ज्ञापनपत्रको बोधार्थ पठाई भद्रपुर नाकाबाट आवागमन सहज बनाउन पहल गरिदिन आग्रह गरिएको अध्यक्ष पनेरुले बताए ।
ज्ञापनपत्रमा भनिएको छ– ‘अन्य नाकाहरुसँगै बन्द रहेको भद्रपुर नाका काँकरभिट्टालगायतका सबै नाका खुलिसक्दा पनि बन्द हुनुले गम्भीर चिन्ता उत्पन्न भएको । कोरोना भाइरस संक्रमणको शुरुआती चरण र अत्यन्त कोलाहलपूर्ण अवस्थामा नाका सिल गर्न भद्रपुर क्षेत्रका उद्योगी–व्यवसायी, आम सर्वसाधारण नागरिक, सबैले नेपाल सरकार र अन्तर्गतका निकायहरुलाई सक्रिय साथ–सहयोग दिएको स्मरण गराउँदै हाल नेपाल तथा भारतीय सीमा नाकामा पनि कोरोना भाइरसको संक्रमण दर पनि न्यून हुँदै गएको, कोलाहलपूर्ण अवस्था पनि नरहेको, लकडाउन पनि खुकुलो भई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै÷गराउँदै बजारमा पनि चहल–पहल भइरहेको तथा कोभिड–१९ विरुद्धको खोप पनि व्यापक रुपमा लगाइसकिएको अवस्थामा भद्रपुर नाकाबाट हुने आवागमनमा पूर्ण कडाइ गर्नुपर्ने औचित्य समाप्त भएको यस क्षेत्रका उद्योगी–व्यवसायीहरुको धारणा रहेको हुँदा आमनागरिक र उद्योेगी–व्यसायीहरुको आश्यकता, चाहना एवम् व्यवहारिक पक्षलाई ध्यानमा राख्दै भारतको गलगलियासँग जोडिएको भद्रपुर नाका सहज बनाइदिनुहुन सम्माननीय प्रधानमन्त्रीज्यूसँग आग्रह गर्दै यसका लागि पहलकदमी र सहजीकरण गरिदिनु हुन सरोकारवाला निकाय तथा माननीय जनप्रतिनिधिज्यूहरु समक्ष जोडदार माग गर्दछौं ।’
भारतीय सीमा बजारबाट खुद्रा गुणस्तरीय सामग्री छनौट र खरिद गर्न व्यवसायी आफै जानुपर्ने हुँदा पनि असजिलो भएको हुँदा यो नाकालाई सहज बनाउनु पर्ने आवश्यकता देखिएको उद्योगी–व्यवसायीहरुको भनाइ छ ।
‘लामो समयदेखि दुबैतर्फका सीमा क्षेत्रमा नागरिकको एक–अर्कासँग पारिवारिक सम्बन्ध रहँदै आएको छ भने एकै किसिमका संस्कार–संस्कृति भएका कारण त्यस्ता संस्कार–संस्कृतिको आदानप्रदान हुँदै आएको छ’, भद्रपुरका अग्रज उद्योगी महेश मित्तल भन्छन्– ‘भद्रपुर नाकामा आवत–जावतमा भइरहेको कडाइले एक परिवारको अर्को परिवारसँग, एक नातेदारको अर्को नातेदारसँग भेटघाट हुन नसकेको, संस्कार–संस्कृतिको आदान–प्रदान हुन नसकेको तीतो यथार्थ एकातिर छ भने आवश्यक औषधोपचारका लागि सहज रुपमा आउन–जान पाउने अवस्था पनि छैन । त्यसैले जतिसक्दो चाँडो नाका सहज बनाउनुपर्यो ।’
संघले यथासक्य चाँडो भद्रपुर नाकाबाट आवागमन सहज नभए दवाबमूलक कार्यक्रम गर्न बाध्य हुने ज्ञापनपत्रमार्फत जानकारी गराएको छ । यसअघि, झापा उद्योग संघले पनि भद्रपुर नाका सहज बनाउन माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।