बिर्तामोड, भदौ १९ । नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा स्थानीय सरकारका सवालहरुबारे दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबार बिर्तामोडमा शुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले तालिमको उद्घाटन गरे । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी र दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले शुभकामना व्यक्त गरेका थिए । तालिमका मुख्य प्रशिक्षक अग्रज पत्रकार हरिबहादुर थापाले औचित्यमाथि प्रकाश पार्दै विषयवस्तु प्रस्ट्याएका थिए ।
दमक नगरपालिका र नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी)को सहकार्य रहेको तालिममा झापाका ३० जना क्रियाशील सञ्चारकर्मीको सहभागिता छ ।

महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको तालिम उद्घाटन समारोहको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए । तालिम उद्घाटन समारोहमा प्रमुख अतिथि भण्डारीले खोजमूलक र मर्यादित पत्रकारितामा अग्रसर हुन सञ्चारकर्मीलाई आग्रह गरे । स्थानीय सरकारका धेरै सवालहरु ओझेलमा परेको भन्दै भण्डारीले खोजमूलक पत्रकारिताको माध्यमबाट त्यस्ता सवालहरुलाई आमनागरिकसमक्ष उजागर गर्न उनले सुझाए । पत्रकारिताको नाममा गलत कार्य गर्न कसैलाई पनि छुट नहुने र गलत गर्नेहरुलाई दण्डित गर्नुपर्ने भण्डारीको जोड थियो । पत्रकार र पत्रकारिताका विषयमा सरकार र समाजमा उठ्ने प्रश्नहरु बारे सम्बद्ध सबैको सहभागितामा छलफल बहस हुनुपर्ने भण्डारीको जोड छ ।

बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले पत्रकारितामा नकारात्मक मात्र लेख्ने र पार्टी पत्रकारिता मौलाएको गुनासो गरे । नकारात्मक मात्र लेखेर कसैलाई खुइल्याउने भन्दा पनि लेखन तथ्यपरक हुनुपर्ने र स्थानीय सरकारका सकारात्मक कार्यहरु पनि सञ्चारमाध्यममा उत्तिकै प्राथमिकतामा पर्नुपर्ने शिवाकोटीले बताए ।
दमक नगरपालिकाका मेयर ओलीले स्थानीय सरकारको ठूलो जिम्मेवारीसँगै त्यहाँभित्र धेरै सवालहरु विद्यमान रहेको तर त्यस विषयमा मिडियाको उचित ध्यान नपुगेको बताए । ओलीले खोजमूलक पत्रकारितामा जोड दिँदै तथ्यपरक र सकारात्मक विषयवस्तु पनि उजागर गरिदिन आग्रह गरे ।

कार्यक्रममा शेयरकास्टका अफिस मेनेजर भूमि चापागाईले संस्थाको गतिविधि र पत्रकार महासंघसँगको सहकार्यबारे प्रस्ट्याएका थिए । तालिममा शेयरकास्टकी रिसर्च अफिसर ओसिन राईको पनि सहभागिता छ । स्थानीय सरकारलाई प्रभावकारी, पारदर्शी एवम् जवाफदेही बनाउन त्यहाँका सवाल उठान गर्न पत्रकारहरुलाई खोज पत्रकारितामा प्रेरित गर्न तालिमको आयोजना गरिएको बताइएको छ ।

स्थानीय सरकारले सम्पादन गर्ने कार्यहरु, कार्यक्रम निर्माण तथा बजेट विनियोजन प्रक्रिया र कार्यसम्पादनका बारेमा आमजनतालाई सुसूचित गराउने सवालहरुबारे तालिममा छलफल हुने बताइएको छ । स्थानीय सरकारले दिने सेवासुविधाको प्रभावकारिता र पारदर्शिताका बारेमा तथ्य उजागर गर्ने एवम् आन्तरिक सुशासनलाई प्रवद्र्धन गर्नका लागि सञ्चार क्षेत्रबाट कसरी योगदान गर्न सकिन्छ भन्ने बारेमा पनि तालिममा छलफल हुने बताइएको छ ।स्थानीय सरकारसँग सहभागीमध्ये सम्बन्धित विषयवस्तुलाई प्रभावकारी रुपमा उठान गरी अर्थपूर्ण र विकल्पसहितको समाधानका लागि जिम्मेवार पत्रकारितामार्फत विषयवस्तुको उत्कृष्ट ढंगले रिपोर्टिङ गर्न पत्रकारलाई लेखनवृत्ति प्रदान गरिने बताइएको छ ।
प्रभावकारी र जिम्मेवार पत्रकारिताको माध्यमबाट सुशासन प्रवद्र्धनका क्षेत्रमा कलम चलाउन पत्रकारलाई अभिप्रेरित गर्ने तालिमको अपेक्षा रहेका शेयरकाष्टका अफिस मेनेजर चापागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्