झापा , भदौ २० । माइ खोलाले कटान गरी क्षति पुर्याएको छ ।

साउन १७ गते रातिदेखि परेको वर्षाका कारण आइतबार दिउँसो सो खोलाले करीब एक विगाह जमिन कटान गरेको हो । गौरीगञ्ज १ टप्पुस्थित सतार बस्ती नजिक रहेको माई खोलाको बाँध १५० मिटर जति कटान भएकोमा सो बाँध कटान भएको स्थानबाट धान खेतीमा पानी पसी मंगलजंग राजवंशीको अन्दाजी ७ कठ्ठा धान खेती र बुद्ध हेमरमको १० कठ्ठा धान खेती गरी जम्मा १७ कठ्ठा खेतीमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । तत्काल बस्तीमा डुबान हुने जोखिमको सम्भावना नरहेको र प्रहरी चौकी कुञ्जीबारीबाट प्रहरी सहायक निरीक्षकको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँध बाँध्ने सम्बन्धमा जनताको तटबन्धको कार्यालय र स्थानीय निकायबीच छलफल भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताएका छन् ।

यसैबीच साविक महाभारामा माई खोलाले धार परिवर्तन गरी बिर्खे बस्तीतर्फ पस्ने अवस्था आएपछि १ हजार घरधुरी जोखिममा परेका छन् । आइतबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनासहित सुरक्षा निकायका प्रमुख,जनताको तटबन्धका प्रमुख, नेपाली काँग्रेसका पूर्व उपसभापति देउमान थेबे, वडाध्यक्षसहितको टोलीले निरीक्षण गरी तत्काल बाँध बाध्ने कार्य शुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्